खाजा खाएको होटलमा नै लुटपाट गरेर फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।कैलालीको चुरे गाउँपालिका-५ खानीडाँडास्थित एक होटलमा खाजा खान गएको बेला होटल सञ्चालिकालाई नै लुटपाट गरेर फरार रहेका व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिकाको वडा नम्बर १ घर भएका ३५ वर्षीय प्रकाश शाही छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शाहीले कैलालीको खानीडाँडामा खाजा खान गएको होटलकी सञ्चालिकालाई बदामको जुसमा नशालु पदार्थ मिलाएर खुवाइ बेहोस् बनाएर ३ लाख २० हजार रुपैयाँ बराबरको २ तोलाको सुनको सिक्री लुटेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको सूचनाका आधारमा बाँके प्रहरीले उनको खोजी शुरु गरेको थियो । खोजीका क्रममा बाँकेको कोहलपुर नगरपालिका-३ किरणनालामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका शाहीबाट नगद ५९ हजार रुपैयाँ र भे४प ९५२५ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
