उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ को प्र्रभावले अधिकांश उद्योग व्यवसाय नोक्सानमा रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले ६७.५६ प्रतिशत उद्योग व्यवसायन नोक्सानमा रहेका छन् । अध्ययनमा सहभागी उद्योगहरूमध्ये १६.२२ प्रतिशतहरू मात्रै नाफामा गएका छन् । नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूलो उद्योग रहेका छन् ।
मन्त्रालयले गरेको एक अध्ययनले कोभिड–१९ को प्र्रभावका कारण अझै १०.८१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएको देखाएको छ ।
बजेट मध्यवधि समीक्षामा राष्ट्र बैंकले मंसिरसम्म गरेको अध्ययनको आधारमा तथ्यांक प्रस्तुत गरेपनि उद्योग मन्त्रालयले त्यसको भोलिपल्ट माघ २८ गते देशमा सञ्चालित ३७ वटा उद्योगको अध्ययन गरेर सो तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयले गरेको अध्ययनले कोभिडका नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत कुनै पनि उद्योग पूर्ण रुपमा सञ्चालनमा नभएको देखाएको छ ।
अध्ययनमा लागि छनोट गरिएका उद्योग व्यवसायमध्ये १०.८१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द रहेका छने् भने ८९.१९ प्रतिशत उद्योग आंशिक रुपमा सञ्चालनमा आएको उल्लेख गरिएको छ । पूर्ण बन्द भएका उद्योगहरूमध्ये ७५ प्रतिशत लघु तथा घरेलु उद्योगहरू पूर्ण रुपमा बन्द भएका छन् ।
४.३ प्रतिशत उद्योग उत्पादन क्षमतामा उल्लेख्य रुपमा गिरावट आएको छ । सर्वेक्षणमा सहभागि गराइएका उद्योगहरूमध्ये ५४ प्रतिशत उद्योगहरूको उत्पादनमा ५० प्रतिशतले गिरावट आएको छ भने ३२.४३ प्रतिशत उद्योगहरूको क्षमतामा ७५ प्रतिशतले र लघु तथा घरेलु उद्योगको उत्पादनमा पनि ७५ प्रतिशतले गिरावट आएको देखाएको छ ।
यो अवधिमा ७३ प्रतिशतले औद्योगिक कारोबार घटेको अध्ययन प्रतिवेदनले देखाएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले गर्दा ९६.७ प्रतिशत उद्योगहरूको ७३.८ प्रतिशत औद्योगिक उत्पादनरकारोबार घटेको जनाएको छ । २२.५ प्रतिशत श्रमिकले रोजगारी गुमेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रमिक कटौती गर्ने उद्योगहरूमा लघु, घरेलु, तथा साना उद्योगहरु बढी रहेका छन् । यो अवधिमा विशेष गरी सञ्चालन खर्चको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ, बजार मागको कमी जस्ता समस्या रहेको देखिएको छ ।
सर्वेक्षणमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगहरुले कोभिड–१९ महामारीका कारण आफ्नो उत्पादनमा असर परेको बताएका छन् । ७६.प्रतिशत लघु तथा घरेलु उद्योगले कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ हुनुका साथै श्रमिक परिचालनमा समेत असर परेको प्रतिक्रिया दिएका छन् । ७५ प्रतिशत साना उद्योगहरूले उद्योगको लागि आवश्यक कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको जानकारी गराएका छन् । ८७.५ प्रतिशत उद्योगहरूले श्रमिकहरुको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको जनाएको छ ।
सर्वेक्षणमा सहभागि मझौला उद्योगहरूमध्ये ५० प्रतिशतले कच्चा पदार्थको उपलब्धतामा समस्या परेको, ७५ प्रतिशत उद्योगहरुको श्रमिक परिचालन तथा उद्योगको उत्पादन र बजारीकरणमा समस्या परेको उल्लेख गरेका छन् । ठूला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्त, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र बजारीकरण सबै क्षेत्रमा असर परेको पाइएको छ ।
अध्ययनका क्रममा उद्यमीहरूले कम्तिमा २ वर्षसम्म श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्न नहुने, अन्तmशुल्क र भ्याटको दरमा पुनर्मूल्यांकन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियतहरू तुरुन्त प्रदान गर्नुपर्ने सुझाव दिएका छन् । कोभिडका बेलामा सहुलियत दरमा ऋण पाउनुपर्ने, करमा विशेष छुट दिनुपर्ने, उत्पादनको आधारमा विद्युतको डिमाण्ड शुल्क निर्धारण गर्नुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता पाउनुपर्ने, पूनकर्जा उपलब्ध गराउनुपर्ने, घरभाडा छुट दिनुपर्ने पनि उद्योगीहरूको सुझाव छ ।
मन्त्रालयले सर्वेक्षणमा १७ वटा लघु उद्यम तथा घरेलु उद्योग, ८ वटा साना उद्योग, ४ वटा मझौला उद्योग र ८ वटा ठूलो उद्योग गरी कुल ३७ वटा उद्योग व्यवसायलाई सहभागि गराएको थियो । अध्ययनका लागि नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र महिला उद्यामी महासंघमार्फत उद्योग व्यवसायीको सहयोग लिएको जनाएको छ ।
मन्त्रालयले २०७७ कार्तिक १७ देखि मंसिर १६ गतेसम्म तथ्यांक संकलन कार्य गरेको हो । सर्वेक्षणमा सिमेन्ट, तामा पित्तल भाँडा, रङरोगन, जलविद्युत उत्पादन, गरगहना, हस्तकला, तयारी पोसाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योग व्यवसायहरू सहभागी भएका थिए ।
