बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने तयारी गरेको छ । माघ १६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको शेयर सूचीकरणको प्रकृया अन्तिम चरण रहेको कम्पनीले जानकारी गराएको छ ।  

यसै साताभित्र नेप्सेमा शेयर सूचीकरणको काम सम्पन्न गर्ने गरी काम अघि बढाएकाले आगामी सातादेखि कारोबार गर्न सकिने कम्पनीको भनाई छ । यस कम्पनीले धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।  

कम्पनीले माघ २ देखि ६ गतेसम्म रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ । 

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी रू. २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० लाख कित्ता शेयर नेप्सेमा यसै साताभित्र सूचीकृत गराउँनेछ । 

कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज पाउनेछ । नेप्सेले सूचीकृत कम्पनीहरुको पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीनगुणा सम्म मूल्य रेञ्ज तोक्ने व्यवस्था छ । आर्थिक वर्ष ०७६/७७ सम्मको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६२ रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले रू. ११७ दशमलव ६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *