काठमाडौं, पुस- २४
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ ।
अन्तिम खेलमा मंगलबार उपाधि विजेता मनाङ–मर्स्याङ्दी क्लब फ्रेन्ड्स क्लबसंग पराजित भएसंगै खेल सकिएको हो ।
यसअघिका भएका लिहको खेलमा शतप्रतिशत नतिजा निकालेको मनाङ अन्तिम खेलमा भने फ्रेन्ड्ससित १–० ले पराजित हुन पुग्यो ।
फ्रेण्ड्सलाई जित दिलाउने क्रममा इन्जुरी समयको अन्तिम मिनेटमा विकास लामाले गोल गर्दैै मनाङको शतप्रतिशत नतिजामा पूर्णविराम लगाएका हुन् ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङले गोल गर्ने एक दर्जनभन्दा बढी अवसर खेर फालेपछि हारको सामना गर्यो ।
यसअघि नै उपाधि सुरक्षित गरेको मनाङले आठौंपटक लिगको उपाधि उचालेको छ । संकटा क्लब उपविजेता हुँदा थ्रीस्टार क्लबले भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।
त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा रहे ।
न्यूरोड टिम(एनआरटी) पुछारमा
त्यसैगरी, मंगलबारको अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित गोलरहित बराबरी खेलेपछि चारपटकको च्याम्पियन न्यूरोड टिम (एनआरटी)ले लिगको पुछरमा सिमित रहन पुग्यो । मच्छिन्द्र क्लब पुछारबाट दोस्रो स्थनम रह्यो ।
‘ए’ डिभिजन लिग विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख तथा छैटौं हुने टिमले ५ लाख रुपैयाँ जितेको छ ।