नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ। विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ। यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ।

नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक अन्य तेस्रो मुलुकमा नेपाली चिया उच्च मूल्यमा बिक्छ। विश्वका कुनाकुना पुग्ने नेपाली चिया नेपालकै अधिकांश जिल्लामा अहिले पनि देखिँदैन। अर्थोडक्सलाई स्वास्थ्यबद्र्धक मानिन्छ तर एकातिर गुणस्तरीय र अर्कातिर स्वदेशी उत्पादन भए पनि नेपालमै पहिचान बनाउन नसक्नु लज्जास्पद देखिन्छ।

भारतले नेपाली चियालाई ‘गुणस्तरहीन’ भन्दा पनि भारतमै चिया बेच्नुपर्ने बाध्यता छ तर नेपाली बजारमा चिया पुर्याउन अहिलेसम्म कसरत भएकै देखिँदैन। पन्ध्र प्रतिशत अर्थोडक्स मात्र नेपालमा खपत हुने गरेको तथ्याङ्कले देखाउँछ । बाँकी चिया भारतलगायतका अन्य मुलुकमा बिक्री हुन्छ। नेपालकै ठूलो जमातले तराईको सिटिसी (क्रस टियर क्रल) चिया पिउनुपर्ने बाध्यता छ।

भारतले चियामा हेपाहा प्रवृत्ति देखाउँदा अर्थोडक्सले कि तेस्रो मुलुक कि आन्तरिक बजारमा खपत गराउनुपर्ने हो तर यस्तो प्रयास भएको छैन। तेस्रो मुलुकका लागि व्यक्तिगतरूपमा बिक्रेताले बजार विस्तार गरे पनि आन्तरिक बजार जस्ताको तस्तै छ । यसैले एकातिर गुणस्तरीय चिया कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ भने कम गुणस्तरीय चिया नेपालमै बाहिरबाट भित्र्याउनुपर्ने स्थिति देखिन्छ।

अहिले पनि धेरै नेपालीले अर्थोडक्स चियाको स्वादै नपाएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका संस्थागत अध्यक्ष गोविन्द दाहाल बताउँछन्। सरकारी क्षेत्रबाट प्रवद्र्धनका काम कम र अर्थोडक्सको लागत बढी भएकाले नेपाली बजारमा नपुगेको दाहालको भनाइ छ। दाहालका अनुसार नेपाली बजार बिगार्न भारतबाट सस्तो मूल्यमा चिया ल्याएर नेपाली चिया खपत हुन नसक्ने स्थिति बनाइने गरेको छ। गुणस्तरीय भन्दै भारतबाट चिया भित्र्याउने र नेपाली चियालाई बाहिर पठाउने गरिनाले चियाको आन्तरिक बजार नबढेको उनको भनाइ छ।

“नियतवश यस्ता काम हुने गरेका छन् । यस्ता काम हुन दिएसम्म नेपाली बजार बलियो हुनै सक्दैन”, उनले भने। दाहालले पछिल्लो समय भने आन्तरिक बजार बढाउन केही काम हुन थालेको बताए। सिटुसी बिजनेस (को–अपरेटिभ टु को–अपरेटिभ/सहकारीबाट सहकारी) अभियानले आन्तरिक बजार विस्तार थालेको दाहालले बताए। “एक जिल्लाको सहकारीले अर्को जिल्लाको सहकारीसँग साझेदारी गर्नुपर्ने नीति छ”, दाहालले भने, “यसले बजार विस्तार गर्न सक्छ।”

त्यसो त बाह्य बजारमा नेपाली चिया पुर्याएवापत सरकारले छुट दिने गरेको छ । छुट भएकाले पनि बिक्रेताको आँखा नेपाली बजार नपरेको हो। पूर्वी पहाडी जिल्लाको अर्थोडक्स राजधानी (काठमाडौँ) समेत नपुग्ने गरेको देखिन्छ। चिया भन्नेबित्तिकै सिटिसी बुझिने र गुणस्तरीय अर्थोडक्स गुमनाम पारिनाले नेपाली खपत घटाइँदै लगेको देखिन्छ।

चिया अर्थोडक्स ‘अग्र्यानिकरण’ भएको र ‘अग्र्यानिक’ प्रयासमा रहेकाले महङ्गो पर्नाले आन्तरिक बजारमा नचिनिएको चियाका ‘अग्र्यानिक’ अनुसन्धनकर्ता (इन्सपेक्टर) विशाल केसी बताउँछन्। अर्थोडक्स चिया पनि विभिन्न प्रकारका बनाइन्छ। अनेक स्वाद लिनका लागि अर्थोडक्स चियाबाट कालो टी, ग्रीन टी, यल्लो टीलगायतका प्रकार बनाइन्छ। यी चिया महङ्गो पर्ने र नेपालीले खरिद गर्न नसक्ने भएकाले अर्थोडक्स नचिनिएको केसीको भनाइ छ।

अर्थोडक्स चियाको अग्र्यानिकरणका लागि पनि उद्योगले महङ्गो रकम तिर्नुपर्छ। यसका साथै वार्षिक नवीकरण गर्नुपर्छ। यस्ता सबै खर्च जोड्दा अर्थोडक्समा लागत बढी पर्ने गर्छ तर सरकारले अर्थोडक्सलाई प्रमुख आवश्यकतामा राखेर नेपाली बजारमा पुर्याउन पहल गरे लागत कम हुने केसीको भनाइ छ। “पछिल्लो समय चियामा अनुसन्धानकर्ता र प्राविधिक बढिरहेका छन् । यतापट्टि सरकारको चासो हुनुपर्यो”, केसीले भने, “किसान तहसम्म सरकारी अनुदान र सहुलियत ऋणका काम पुगेमा लागत घटेर जान्छ तर यस्तो हुनसकेको छैन।”

सरकारले चिया क्षेत्रलाई नहेरेकाले पछि परेको भनेर आलोचनासमेत गरिन्छ। विदेशी मुद्रा विनिमयमा महत्वपूर्ण हिस्सा ओगट्ने यो क्षेत्रलाई स्वदेशमै प्रवद्र्धन गर्दा नेपाली उपभोक्ता बढ्ने निश्चित छ। हाल नेपाली चिया ३१ देश पुग्ने गरेको छ भने १३ देशबाट चिया आपूर्ति हुने गरेको तथ्याङ्कले देखाउँछ। यदि नेपाली चियालाई प्रोत्साहन गर्ने हो भने विदेशको चिया भित्र्याउनु नपर्ने देखिन्छ। यता चिया तथा कफी विकास बोर्डले भने पछिल्लो समय अर्थोडक्स चियाको प्रोत्साहनको काम शुरु भएको जनाएको छ । बोर्डले तत्कालै प्रदेश÷प्रदेशमा ‘आन्तरिक बजार प्रमोसन सेन्टर’ खोल्न लागेको छ।

अहिले यसका लागि कागजी काम भइरहेको छ। चिया प्रवद्र्धनका लागि बोर्डको पहिलो कार्यालय पोखरामा खोल्नेसमेत निर्णय गरिएको छ। “कोरोनाले अवरोध गरेकाले काम हुनसकेको छैन, तत्काल काम गर्नेछौँ”, चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले भने, “अहिले नेपाली अर्थोडक्सको खपत १५ प्रतिशतमात्र नेपालमा छ ।

यसैले हामीले प्रमोसनका कार्यक्रम ल्याएका हौँ।” सेन्टरमार्फत सातै प्रदेशबाट अर्थोडक्सको प्रवद्र्धन गर्दा चिया खरिदकर्ता बढ्ने बोर्डको अनुमान छ। साथै बोर्डले चीन सरकारसँग प्रत्यक्ष व्यापार गर्न सम्झौता गर्न लागेको छ। अहिले व्यक्तिगतरूपमा चिया जाँदै गरेकामा अब भने नेपाल–चीन उडानमार्फत नै चिया लानका लागि सम्झौता गर्न लागिएको हो।

“हामीले परराष्ट्र मन्त्रालयमार्फत ‘डिप्लोम्याटिक नोट’ पठाइसक्यौँ, निकट भविष्यमै यो काम हुन्छ”, निर्देशक डा भट्टराईले भने, “लागत पनि घट्छ र किसानले उचित भाउ पाउँछन्।” गएको वर्ष मात्रै रु तीन अर्ब २० करोड ३९ लाख चार हजारको एक करोड ५० लाख चार हजार ३८० किलो चिया नेपालबाट निर्यात भएको देखिन्छ। यस्तै गत वर्ष रु ११ करोड ७७ लाख ३२ हजारको तीन लाख ४३ हजार ३५३ किलो चिया आयात भएको बोर्डको तथ्याङ्कले देखाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here