आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने

सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त भएको प्राधिकरणले जनाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत् प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । सिइएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । 

प्राधिकरणले टनकपुरबाट खरीद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४।१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक सात करोड युनिट विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरीद गर्दै आएको छ । “टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौँ, भारतीय अधिकारीसँगको निरन्तरको छलफलपछि जनवरी–मार्च र जुलाई–डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौं”, शाक्यले भने । “प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत् पठाउन सकिरहेका थिएनौँ, टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने छ भने विहारबाट महँगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिनेछ”, उनले भने ।  

प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौँ उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताउछन । यसबाट मुलुककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उनले उल्लेख गरे । केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *