सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। आज बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनको आयाेजना गरी मन्त्री बोहराले आफूले पदबाट राजीनामा दिएकाे जनाएका हुन्।
पछिल्लो राजनीतिक परिस्थितिले आफूलाई राजीनामा दिन बाध्य पारेकाे बताउँदै मन्त्री बोहराले भने, ´विद्यमान राजनीतिक अवस्थामा काम गर्न नसकिने परिस्थिति आएकाे थियाे। यस्तो अवस्थामा पनि पदमा बसिरहे जनतामा अन्याय हुने ठानेर मैले राजीनामा दिएकाे हुँ।´ आफूलाई कसैले हटाउने डरले राजीनामा नदिएको उनले स्पष्ट पारेका छन्। यसअघि मुख्यमन्त्री त्रिलाेचन भट्टले भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरालाई पदबाट हटाउने निन्दनीय काम गरेको समेत उनले टिप्छपणी गरेका छन्।
राजनीतिक अंकगणितमा प्रचण्ड-नेपाल पक्षका वर्तमान मुख्यमन्त्रीसँग बहुमत नरहेकाे बताउँदै उनले भने, `बहुमत भए सरकार चलाेस् तर राजनीतिक गणित उहाँहरूले भनेकाे भन्दा फरक छ।’ २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित बोहरा तत्कालीन माओवादी केन्द्रबाट वामगठनबन्धका उम्मेदवार समेत बनेका थिए। उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए। उनले राजीनामा दिएसँगै आफू प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा रहेकाे समेत खुलाएका छन्। अब ओलीकाे पक्षमा उनीसहित पूर्वभौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा खुलेका छन्।
प्रदेशसभामा जम्मा ५३ सांसदमध्ये १२ कांग्रेसका, २ जनता समाजवादी पाटीका र बाँकी ३९ जना नेकपाका छन्।
