बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् ।

बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । संविधानतः संसदको पुनस्र्थापना गर्न नमिल्ने उनको भनाई छ । आफू संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए ।

आफूले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रचण्डको ध्यान कसरी कब्जा गर्ने र हत्याउने भन्ने मात्रै रहेको उनले बताए ।

एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड–माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग गरेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनताबाट बेलाबेलामा अनुमोदित भइरहनुपर्ने बताउँदै निर्वाचनको तयारी गर्न प्रचण्ड–माधव पक्षलाई आग्रह गरेका छन् । चुनाव गर्दा लोकतन्त्र, गणतन्त्र नसकिने ओलीको भनाई छ ।

ओलीले प्रचण्ड माधव पक्षले पार्टी एकतालाई टुंग्याउन नदिएको, संवैधानिक आयोगलाई पूर्णता दिन नचाहेको तथा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, राष्ट्रपति लगायत संवैधानिक आयोगहरुलाई महाअभियोग लगाउन खोजिएको बताए ।

उनले आगामी चुनाव निष्पक्ष र धाधँलीरहित रहने पनि जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको बताए । सडक पूर्वाधारमा धेरै विकास गरेको र आगामी दिनमा पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण रेलमार्ग बन्ने बताए । कोभिड–१९ को संक्रमण दर तथा मृत्युदरमा कमी गराएको तथा भूकम्पपछिको पनर्निर्माणको काममा सफलता पाएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *