शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९)कै महामारीबीच सरकारविरुद्ध ‘सडक संघर्ष’ चर्काउने

संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९)कै महामारीबीच सरकारविरुद्ध ‘सडक संघर्ष’ चर्काउने भएको छ ।

गत वर्षको फागुनमा सार्वजनिक कार्यक्रम नगर्न कांग्रेसले आन्तरिक निर्देशन जारी गरेको थियो । तर, मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीको ‘गिरफ्तारी’मा परेपछि कांग्रेस महामारीकै बीच सडक संघर्ष चर्काउने तयारीमा जुटेको हो ।

मंसिर १७ गते तनहुँको दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सत्तारुढ नेकपाले समेत पुल उद्घाटनमा अवरोध गरेपछि कांग्रेसले ‘सरकारका प्रवृत्ति’विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, भ्रष्टाचार बढेको र कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायत आरोप लगाएको छ ।

‘सरकारकै प्रवृत्ति’का कारण देशका विभिन्न ठाउँमा राजावादीहरु सक्रिय भएको भन्दै कांग्रेसले लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न सक्ने पनि बताउँदै आएको छ ।

‘सरकारका प्रवृत्ति’विरुद्ध गर्न लागिएको आन्दोलनअन्तर्गत कांग्रेसले भदौ २९ गते (सोमबार) देशभर विरोध प्रदर्शन गर्दै छ ।

विरोध प्रदर्शन सफल बनाउन कांग्रेसले केन्द्रीय कार्यालयबाटै प्रतिनिधिहरु खटाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु पनि विरोध प्रदर्शन सफल पार्न परिचालित हुने भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शन सफल पार्न मकवानपुर जाने भएका छन् । उनले हेटौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सितादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

अन्य नेताहरुमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी, रामशरण महत चितवन, अर्जुननरसिंह केसी पोखराले पोखराका कार्यक्रममा सम्बोधन गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुको हकमा भने जिल्ला सभापतिले माग गरेको ठाउँमा जाने गरी तय भएको छ ।

केन्द्रीय सदस्य गगनकुमार थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउँद अछाम जाने कार्यक्रम छ ।

कांग्रेसले विरोध प्रदर्शनका लागि केन्द्रबाटै १० वटा नाराहरु समेत तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *