तनहुँ—पुस २०
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी जहाज खरिद अनियमितता प्रकरण ढाकछोप गर्न सरकारले अलग्गै छानबिन समिति गठन गरेको बताएका छन्।
गृहजिल्ला तनहुँमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले राजनीतिमा तीनतिर फर्केका नेता खान पाएपछि एकैतिर फर्कने आरोप समेत लगाए।
‘लेखा समिति अन्तर्गत उपसमितिले वाइडबडी खरिद अनियमितताबारे छानबिन गरिरहेकै अवस्थामा सरकारले छुट्टै समिति गठन गर्नु भनेको सरकारले नै अनियमितता लुकाउन खोजेको हो,’ पौडेलले भने, ‘उपसमितिको प्रतिवेदन मान्दिनँ भनेर समितिलाई नै अपमान गरिएको छ।’
वाइडबडी जहाज खरिदमा ठूला नेताहरू संलग्न रहेको हुनसक्ने समेत पौडेलले बताए।
‘राजनीतिमा तीनतिर फर्केका नेताहरू खान पाएपछि एकैतिर फर्कन्छन्,’ पौडेलले भने, ‘अहिले आएर सबै मिलि ठूला भ्रष्टाचार काण्ड त गरेका होइनन् भन्ने प्रश्न पनि उठेको छ।’
फरक प्रसंगमा बोल्दै पौडेलले महासमिति बैठकपछि पार्टीमा एकता देखा परेको बताए।
१४ औं महाधिवेशन समयमा नै गरेर अर्को चुनावका लागि गाउँदेखि सहरसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउनुपर्ने पौडेलले जनाए।