बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

भारतीय विदेश सचिवको एजेन्डाविहीन शिष्टाचार भ्रमण

दुई दिने औपचारिक नेपाल भ्रमणमा काठमाडौं आउनुभएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्खला विहीवार काठमाडौं आइपुगे लगत्तै उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको छ । उहाँले पूर्व निर्धारित कार्यतालिका अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरवहादुर देउवासँग विहीवार नै भेटवार्ता गर्नुभएको छ । तर ती सबै भेटवार्ता शिष्टाचार भेटमा मात्र सीमित रहेको बताइएको छ । भेटवार्तामा कुनै एजेण्डा केन्द्रीत छलफल नभएको स्रोतको भनाइ छ ।

श्रृङ्गला गत जनवरीमा भारतको विदेश सचिवमा नियुक्त हुनुभएको थियो । भारतमा नयाँ विदेश सचिव नियुक्त हुनासाथ छिमेकी देश भ्रमण गर्ने प्रचलन छ । सोही अनुरुप श्रृङ्गलाले अन्य देशको भ्रमण गरे पनि नेपालको भ्रमण भने गर्नुभएको थिएन । अर्थात यो नै उहाँको पहिलो नेपाल भ्रमण हो । त्यसकारण पनि यो उहाँको शिष्टाचार भ्रमण मात्र हो । बाहिर आए जस्तो कुनै ऐजेन्डासहितको भ्रमण होइन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि श्रृङ्गलाको नेपाल भ्रमण शिष्टाचार भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार यो कुनै एउटा एजेन्डा लिएर छलफलका लागि भएको भ्रमण होइन्। भ्रमणका क्रममा दुई देशबीचको साझेदारीका विविध आयामहरुका बारेमा छलफल भएको उहाँले बताउनुभयो ।

नेपालको परराष्ट्र मन्त्रालय दुई देशबीचको साझेदारीका विविध पक्षहरुमा छलफल भएको जानकारी गराएको छ । त्यस्तै भारतीय दूतावासले पनि छलफल उपलब्धिमूलक रहेको र द्विपक्षीय सहयोगको समीक्षा भएको जनाएको छ । आपसी हितका मुद्दाहरूमा छलफल भएको दूतावासले जनाएको छ ।

द्विपक्षीय छलफलपछि भारतीय विदेश सचिव श्रृङ्गलाले पनि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । वार्ताका एजेण्डाहरु एकदमै बृहत् रहेको र वार्ता उपलब्धीमुलक रहेको उहाँको भनाइ छ । तर वहुप्रतिक्षीत सीमा विवादको विषयमा भने उहाँले केही उल्लेख गर्नुभएको छैन । त्यसैले पनि श्रृङ्गलाको नेपाल भ्रमण शिष्टाचारमा मात्र सीमित हुने देखिएको छ ।

विहीवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । तर सीमा विवादको विषयमा छलफल भयो वा भएन भन्ने कुनै जानकारी गराइएको छैन । विहीवार नै भएको राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितको टोलीसँगको भेट पनि सामान्य शिष्टाचारमै केन्द्रीत रहेको थियो ।

किन आए त श्रृङ्गला ?

बाहिर देखिदा औपचारिक शिष्टाचारमै केन्द्रीत रहे पनि भारतीय विदेश सचिव श्रृङ्गलाको नेपाल भ्रमणको भित्री उदेश्य भने उत्तरतिर नजर लगाउनु हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

नेपाल र भारतबीच सीमा विवाद चुलिरहँदा यस पछाडि चीनको हात रहेको भारत सरकारको बुझाइ छ । यसबारेमा भारतीय सेना प्रमुखदेखि जिम्मेवार व्यक्तिहरुले सार्वजनिक अभिव्यक्ति समेत दिइसकेका छन् । पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढेको र नेपाल चीन नजिक पुगेको भारतीय विश्लेषण छ । यसकारण पनि भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमणको एजेन्डा दुई देशबीचको सीमा विवादको केन्द्र, लिपुलेक, कालापानी र लिम्पियाधुराभन्दा नेपालसँग चीनको बढ्दो सामीप्यताबारे नजर लगाउनु रहेकोमा कुनै द्धिविधा छैन ।
श्रृङ्गलाको नेपाल भ्रमणको कार्यतालिकाले पनि यसैलाई पुष्टि गर्दछ । अर्थात नेपाललाई ’इंगेज’ गराएर भारतीय विदेश सचिव श्रृङ्गला उत्तरतिर नेपाल चीन सीमातिर नजर डुलाउन चाहन्छन् ।

त्यही रणनीति अनुरुप नै शुक्रबार श्रृङ्गला नेपाल र भारतको सीमा क्षेत्रका जिल्लाहरु गोरखा र मनाङ जानुहुने कार्यक्रम तय गरिएको अनुमान लगाउन सकिन्छ ।

श्रृङ्गलाको नेपाल भ्रमणको भित्री स्वार्थ जे भए पनि उहाँको भ्रमणले दुई देशबीच झण्डै एक वर्षसम्म कायम रहेको संवादहीनताको अन्त्य भएको छ । हुन त यसअघि नै नरेन्द्र मोदी सरकारले गुप्तचर संस्था रअका प्रमुखलाई नेपाल पठाएर दुईदेशबीच रहेको संवादहीनताको अवस्थालाई अन्त्य गरेका थिए । विदेश सचिवको भ्रमणले त्यसलाई थप औपचारिक बनाइदिएको छ ।

२०१९ नोभेम्बर २ मा भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भू–भागमा पारेदेखि नेपाल र भारतबीच दुरी बढेको थियो । त्यस लगत्तै नेपाल सरकारले कूटनीतिक नोट पठाएर भूमिबारे भारतीय दाबी गलत रहेको भन्दै नक्सा सच्याउन माग गर्दै नेपालले भारतलाई पटक–पटक सीमा विवादका लागि वार्ताको टेबलमा बस्न निम्तो दिएको थियो । तर, भारतले आलटाल गर्दै आएको थियो ।

त्यसको केही समयपछि भारतले नेपालको भूमी अतिक्रमण गरेर एकपक्षीय रुपमा मानसरोवर जोड्ने सडक निर्माण गरि उद्घाटन समेत गरेपछि नेपाल भारतबीच सीमा विवाद थप पेचिलो बन्यो ।

त्यहीबीच नेपाल सरकारले भने लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा जारी गरेपछि भारत बल्ल दबाबमा पर्यो । त्यसपछि नेपालसँग वार्ता गर्न तयार भएको भारतले विदेश सचिवलाई नेपाल पठाएर औपचारिकता पूरा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *