नेपालको दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव हर्ष वद्र्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गरेको प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

भेटका अवसरमा नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री ओलीले नेपालले भारतसँगका हरेक समस्या वार्ताका माध्यमबाट हल गर्न चाहेको सन्देश दिएको वालुवाटार निकट स्रोतले बताएको छ।

नक्सा विवादका कारण नेपाल र भारतबीच लामो समय गतिरोध उत्पन्न भएको थियो। नक्सा विवादपछि पहिलो पटक कूटनीतिक तहमा वार्ता शुरु भएको हो।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवले शिष्टाचार भेट गर्नुअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए। त्यसअघि परराष्ट्र सचिब भरतराज पौड्याल र उनका भारतीय समकक्षी श्रृंगलाबीच द्विपक्षीय वार्ता भएको थियो।

शुक्रबार स्वेदश फर्किनुअघि श्रृंगलालले नेपाल–भारत सम्बन्धबारे एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here