भारतका विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन् ।

उनी विशेष विमान मार्फत बिहान १० बजेपछि काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिएकी छन् ।

परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । विगतका उच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमा हर्षवर्द्धनको भ्रमण रहेको प्रवक्ता लम्सालले बताइन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन दुई दिन नेपालमा रहने छन् । भ्रमणको पहिलो दिन बिहीबार दुई देशका सचिवबिच द्विपक्षीय वार्ता हुनेछ । यस्तै सहयोगका विविध क्षेत्रबारे छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिइन् ।

नेपाल र भारतबिच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा वार्ताको शृङ्खला सुरु भएको संकेतका रुपमा हर्षवर्द्धनको भ्रमणलाई लिन सकिने विश्लेषण छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहमा औपचारिक भेट तथा छलफल हुन लागेको हो ।

भारतीय विदेशसचिवले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने तयारी छ ।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग पनि भेट गर्ने छन् । उनी भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here