बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता माधवकुमार नेपाल

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा पलाएको अहंकार अहिलेको प्रमुख समस्या भएको बताएका छन्।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको ‘सामन्ती चिन्तन’ समस्याका रुपमा रहेको बताए।

पार्टी बैठक बोलाउन, छलफल गर्नका लागि पटक पटक आग्रह गर्दा समेत आफू लगायत पूर्व प्रधानमन्त्री भइसकेका नेकपाका कुनै नेतालाई नटेरेको नेता नेपालको गुनासो छ।।

भजनमण्डली र गुटका कार्यकर्ताले जस्तै ‘बा’ भनेको, प्रशंसा गरेको मात्रै सुन्न रुचाउँने ओलीको स्वभाव रहेको नेता नेपालको टिप्पणी छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रतिवेदन कुनै हालतमा फिर्ता नहुने समेत नेता नेपालले स्पष्ट पारे।

‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता नेपालले भने, ‘अहिलेको समस्याको समाधान भनेको प्रधामन्त्री ओली सच्चिनुपर्छ।’

उनले प्रतिवेदन गलत भए आत्मलोचना गर्नुपर्ने र नचाहिने आरोप लगाएको भए कारवाही हुने उल्लेख गर्दै आरोप पत्रको सुरुवात प्रधानमन्त्री ओलीले गरेको दाबी गरे।

विवाद बढाउनु भन्दा समस्या समाधानतर्फ सबैको ध्यान जानु आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै कुराको रियलाएज गरेर सबैको विश्वास जित्ने काम गर्नुपर्ने बताए।

सबैको विश्वास जित्न नसके भनेको मान्नु पर्ने उनको तर्क थियो। ‘कि फकाउन सक्नुपर्यो कि त छोड्न तयार हुनुपर्यो,’ उनले भने,‘अहिलेको विवाद महाधिवेशनसम्म जाँदैन।’नेता नेपालले सबै आरोप प्रत्यारोपको छिनोफानो पार्टी कमिटीका बैठकमा हुने बताए।

प्रधानमन्त्री ओलीले अहिले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता गराउन आफू र वामदेव गौतमलाई फकाउने प्रयाश गरेको समेत नेता नेपालले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *