काठमाडौं, पुस-१८ ।
इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राती भएका खेलहरुमा लेष्टर सिटी र आर्सनल विजयी भएका छन् ।
एभर्टनको घरेलु मैदानमा भएको खेलमा लेष्टरले एभर्टनलाई १ –० गोल अन्तरले पराजित गरेको हो । खेलमा लेष्टरलाई जित दिलाउन जेमी भर्डीले निर्णायक १ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भार्डी नायक बन्दा लेष्टरले महत्वपूर्ण ३ अंक जोडेको हो । लेष्टरलाई जित दिलाउने क्रममा भार्डीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
एभर्टनमाथिको जितसंगै लेष्टरले २१ खेलबाट ३१ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन भने २७ अंक सहित लिगको दशौं स्थानमा रहेको छ ।
गए रातीनै भएको लिगको अर्को खेलमा आर्सनलले फुलहमलाई ४–१ गोलले पराजित गर्यो ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा टिमलाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे ।
जितसंगै पाँचौ स्थानको आर्सनल २१ खेलबाट ४१ अंक जोडेर चौथो स्थानको चेल्सीसंगको अंक दुरी २ अंकमा झारेको छ । पराजित फुलहम १४ अंक सहित रेलिगेसन जोनमा रहेको छ ।