बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

जानकी मेडिकल कलेजका कर्मचारी १८ दिनदेखि आमरण अनशनमा

मंसिर ४ धनुषा । जागिरबाट निकालिएका सहकर्मीको पुनर्बहालीलगायत माग राखी जानकी मेडिकल कलेजका दुई कर्मचारी १८ दिनदेखि आमरण अनशनमा छन् । सुरक्षा व्यवस्थापनतर्फका इन्चार्ज जानकीशरण यादव र पारा मेडिकलतर्फका कुलदीप साहले १६ कात्तिकदेखि कलेज प्रांगणमा आमरण अनशन थालेका थिए ।

उनीहरूको स्वास्थ्य दिनानुदिन खराब हुँदै गएको, तर कलेज प्रशासनले कुनै चासो नदिएको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले बताए । ‘हामीले जायज माग अगाडि सारेर आन्दोलन थालेका हौँ,’ उनले भने, ‘प्रदेश सरकार र स्थानीय प्रशासन पनि यसबारे जानकार छन् । तर, यति दिनसम्म कलेज व्यवस्थापन र सरोकारवाला निकाय मौन बसेका छन् ।’

कलेज प्रशासनले ६ कात्तिकमा काममा लापरबाही गरेको आरोप लगाउँदै कर्मचारीहरू उमेश यादव, राजनारायण यादव, जयकुमार यादव, अञ्जु पटेल र वीरेन्द्रकुमार झासँग स्पष्टीकरण सोधेको थियो । तर, भुक्तानी दिन बाँकी दुई महिनाको तलब, ६ वर्षको सञ्चय कोष र ६ वर्षको दसैँ भत्ता उपलब्ध गराउन माग गर्दा कलेज प्रशासनले आफूहरूलाई जागिरबाटै निकालेको उनीहरूको भनाइ छ ।

कलेजका मेडिकल र पारा मेडिकल स्टाफ, सुरक्षा गार्डसहित एक सय १५ जना कर्मचारी १२ असोजदेखि चरणबद्ध आन्दोलनमा छन् । कलेज प्रशासनले भने स्पष्टीकरण सोधिएका पाँचमध्ये दुईजनाले जवाफ दिएको र जवाफ नदिने तीनजनालाई विधानअनुसार कामबाट हटाइएको बताएको छ । स्थानीय कर्मचारीले आफ्नो स्वार्थसिद्धिका लागि अन्य कर्मचारीलाई उचालेर कलेजलाई धरासयी बनाउन खोजेको कलेजका प्रमुख प्रशासक दयानन्द झाले आरोप लगाए । नयाँ पत्रिका दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *