मंसिर ४ काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा आफ्नो सहमति रहेको स्पष्ट पारेका छन्।
सो प्रतिवेदनबारे भ्रम छरिएको भन्दै गौतमको सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ।
गौतमको सचिवालयले आज एक विज्ञप्ति जारी गरेर भनेको छ, ‘प्रचण्डले पेस गर्नुभएका प्रस्तावहरू क.वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ। यसबीचमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि उहाँले यो कुरा व्यक्त गरिसक्नुभएको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रचण्डले पेस गर्नुभएका प्रस्तावहरू नेकपाका समस्त एकता प्रेमी, परिवर्तनकारी एवं विधि र पद्धति पक्षधर नेता-कार्यकर्ताको सामूहिक आवाज हो। केपी ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस्। उहाँलाई खुसी पार्ने नाममा अरू नेताको बदनामी गर्ने, भ्रम सिर्जना गर्दै अरू नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस्।’
प्रचण्डले पेश गरेका प्रस्तावहरु गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उनी सतिसालझैँ अडिग रहेको सचिवालयले स्पष्ट पारेको छ।
