कात्तिक २८ पोखरा । फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकाले गठन गरेको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले काम थालेको छ ।
संयोजक पुण्य पौडेलको अध्यक्षतामा समितिको पहिलो बैठक बिहीबार बसेको छ । बैठकले १ साताभित्रै नापी टोली प्रस्ताव गर्ने निर्णय गरेको जानकारी संयोजक पौडेलले जानकारी दिए ।बैठकले समितिलाई दिइएको कार्यादेश संशोधनका लागि माग गर्ने, ताल सीमांकन कुन बिन्दुबाट सुरु गर्ने भनेर सिद्धान्त तय गर्ने एवं कार्ययोजनाका लागि कर्मचारी व्यवस्था गर्ने लगायत निर्णय पनि गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
पौडेलले ब्रिटिस, भारतीय, आइयुसिएन लगायतले गरेको फेवाको सर्भेसहित पुराना प्रतिवेदनहरुलाई आधार मानिने सुनाए । उनी कास्की जिल्ला विकास समिति सभापति हुँदा २०५८ सालमा तालको सीमांकन गरेका थिए । उक्त सीमांकनका विषयमा कसैको विरोध नआएको उनले स्मरण गरे । ‘त्यो पनि ठूलो आधार हो,’ उनले भने ।
