शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे । सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो ।

एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुपर्‍यो । सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन् ।

‘म निको भइसकेको थिएँ । स्वास्थ्यकर्मीले १४ दिनपछि अरूलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए,’ उनले भने, ‘तर समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएकाले मैले एक महिना घरभित्रै बस्नुप¥यो ।’

स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुनः परीक्षण गराउनु पर्दैन । संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नुनपर्नेगरी छुटकारा पाउने निर्णय गरिसकेको छ । तर नेगेटिभ रिपोर्टको पर्खाइमा एक महिनाभन्दा बढी समय घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ । नेगेटिभ रिपोर्ट नआएसम्म समाजले सहज रुपमा हेर्दैन ।

‘समाजले कोरोना संक्रमितलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेगेटिभ रिपोर्ट नआएसम्म म अझै संक्रमित नै हुँ भन्ने मानसिकता हाबी हुने रहेछ ।

संक्रमण भएको समाजले थाहा नपाए त केही समस्या भएन तर थाहा पाइसकेको अवस्थामा नेगेटिभ रिपोर्टबारे चासो हुने रहेछ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आयो कि आएन भनेर छिमेकीहरू बारम्बार एकअर्कासँग कानेखुसी गर्छन् । समाजकै त्रासका कारण पनि नेगेटिभ रिपोर्ट कुर्नुको विकल्प छैन ।’ उनका अनुसार संक्रमण सार्वजनिक नगरी गुपचुप बस्दा पनि खोजी हुने रहेछ । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *