Ellection on bangaladaesh

ढाकापुस- १५।

बंगलादेशमा आज (आइतबार) हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भएको अधिकरीहरूले जनाएका छन् ।
खासगरी ‘शेख हसिना र खालिदा जियाबीचको युद्ध’ का रूपमा व्याख्या गरिएको चुनावी प्रतिस्पर्धालाई विश्व समुदायले समेत निकै चासोका साथ हेरिरहेको जनाइएको छ ।

७१ वर्षीया प्रधानमन्त्री हसिना बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हुन् । दुई पटक प्रधानमन्त्री भइसकेकी ७३ वर्षीय जिया पूूर्व तानाशाह जियाउर रहमानकी विधवा हुन् । बंगलादेशमा विगत ३ दशकमा भएका चुनावमा मुख्यत: दुई नेतृबीचको प्रतिस्पर्धा हुँदै आएको छ । आइतबारको चुनावमार्फत हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दाउमा छन् ।

तर भ्रष्टाचार मुद्दामा जेल सजाय काटिरहेकाले जिया प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धामा छैनन् । उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री हुन् भने मुस्लिम बाहुल्य भएको देशकी दोस्रो । बंगलादेश स्वतन्त्र भएपछिको ११ औं चुनावलाई प्रजातन्त्रको परीक्षणका रूपमा समेत लिइएको छ ।

जियाले यसअघि सन् २०१४ मा भएको चुनावमा हसिना र उनको सत्तारूढ दल आवामी लिग पार्टीले धाँधली गरको आरोप लगाउँदै वहिस्कार गरेकी थिइन् । जियाको बंगलादेश नेसनल पार्टी (बीएनपी) ले निर्वाचनको प्रचारप्रसारमा सत्तारूढ दलले अवरोध पुर्‍याएको आरोप लगाएको छ ।

गत नोभेम्बरमा बंगलादेशको अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनलाई एक दशक लामो जेल सजाय सुनाएको हो । यद्यपि, उनको दलले उनीमाथिको मुद्दा राजनीतिक प्रतिशोधपूर्ण रहेको बताउँदै आएको छ ।

प्रधानमन्त्री हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छन् भने विपक्षीले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन् । जियाको दल निर्वाचनमा सहभागी नहुने जनाएको थियो । तर लगातार दोस्रो पटक चुनावमा भाग नलिए पार्टीको दर्ता खारेज हुने निर्वाचन आयोगको प्रावधानका कारण प्रतिस्पर्धा गर्न बाध्य भएको हो ।

अधिकारीहरूले चुनावका लागि सुरक्षा व्यवस्थामा उच्च कडाइ गरिएको जनाएका छन् । प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी करिब ६ लाख परिचालन गरिएको जनाइएको छ । यसैबीच, बंगलादशेमा हुने चुनावलाई मध्यनजर गर्दै उच्च गतिको इन्टरनेट सेना कटौती गरिएको छ ।

अधिकारीहरूले दूरसञ्चार नियामक निकायलाई आइतबार साँझसम्मका लागि उच्च गतिको इन्टरनेट सेवा कटौती गर्न आदेश दिइएको जनाए ।

कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here