कात्तिक २० काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहिबार करिब १ घण्टा छलफल भएको छ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला पाँच दिनपछि ओली–प्रचण्डबीच छलफल भएको हो।प्रधानमन्त्री ओलीसँग छलफलका लागि बिहीबार बिहान साढे ११ मा प्रचण्ड बालुवाटार गएका हुन्।

आजको भेटमा के के बिषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन। तर, प्रधानमन्त्रीको सचिवालयले करिब १ घण्टा भेटघाट भएको पुष्टि गरेको छ।

यसअघि शनिबारको भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै आइतबार अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यलाई ब्रिफिङ गरेपछि दुई अध्यक्षबिच शक्ति संघर्ष चर्किएको थियो।

ओलीले बुधबार प्रदेश १ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिएका थिए।

बुधबार नै प्रधानमन्त्रीले एक कार्यक्रममा आफूले राजीनामा दिएर देशलाई बर्बादी तर्फ लैजान नचाहेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here