शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

कोरोना संक्रमणले हरिवंश आचार्य र मनोज गजुरेललाई यस्तो पीडा

कात्तिक १९ काठमाडौं । नेपाली कलाकारहरूले कोरोना भाइरस ९कोभिड–१९० खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना संक्रमणबाट पीडित बनेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफैं नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् ।

कोरोना संक्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, ‘यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।’ २ हप्ता घरमै एकान्तबास बसेर संक्रमणमुक्त भएपछि उनले सबैलाई सचेत भएर बस्न आग्रह गरेका छन् ।

आचार्यले भने, ‘कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो ।’

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमा समेत उपचारका लािग बस्नुपरेको सम्झँदै भन्छन्, ‘थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो । मैले हरेक दिन कोरोनासँग लडिरहें । अनेक दुःख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें ।’

यसैगरी हाँस्य कलाकार मनोज गजुरेलले कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । आफ्नै घरमा एकान्तबास बसिरहेका गजुरेलले कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको स्वीकार गरे । संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा–अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे ।

कोरोनाबाट मुक्त हुन ध्यान केन्द्रित गरेको र घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मनलाई बहलाउने कार्यमा लागेको अनुभव सुनाउँदै उनले आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा संक्रमण देखिहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सुझाव दिए ।

अर्का हाँस्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ले पनि कोरोना संक्रमण भएको र यो रोगसँग लड्दै बिस्तारै निको हुन लागेको बताए । हाँस्य शृंखला जिरे खुर्सानीमा भोक लाग्यो पात्रको अभिनय गर्दै आएका पराजुलीले सामाजिक सञ्जालमा कोरोनाले माया गर्दा र कोरोनाबाट विछोड हुँदाको अवस्थाको भनेर तस्वीर शेयर गरेका छन् ।

नेपाली हाँस्य टेलिशृंखला ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना संक्रमण भएको छ भने गायक खेम सेन्चुरी कोरोना संक्रमणमुक्त भएका छन् । हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि पीसीआर परीक्षण गराएको जानकारी दिँदै उनले रिपोर्ट पोजेटिभ आएपछि घरमै एकान्तबासमा बसेको जानकारी दिए । घरमै बसेर तातोपानी पिउने, व्यायाम गर्ने तथा खानपिनमा बढी ध्यान दिन थालेपछि संक्रमणमुक्त भएको उनको अनुभव छ ।

तातोपानी, बेसारपानी, दालचिनी पानी, सुप र तितेपातीलगायत थप भिटामिन तथा फलफूल खाएको जानकारी उनले दिए । मानसिक तनाव धेरै हुने भएकाले मेडिटेसन तथा मन र दिमागलाई आनन्द हुने संगीत सुनेको पनि जानकारी दिँदै उनले सचेत भएर सुरक्षित बस्दा कोरोना बाहिर हल्ला फैलिएजस्तो नरहेको अनुभव सुनाए ।

गायक तथा संगीतकार टंक बुढाथोकी भदौ महिनामा संक्रमित भएका थिए । घरमै एकान्तबास बसेका बुढाथोकीले घरेलु उपचार पद्धति अपनाएका कारण संक्रमणमुक्त भएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *