शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत

कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत गरेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले डेक्सामेथासोन औषधिको करिब २ हजार बिरामीमा परीक्षण गरेका थिए । ट्रायलमा यो औषधि कैयौं बिरामीको ज्यान बचाउन सफल रहेको पाइयो ।

वैज्ञानिकहरुका अनुसार डेक्सामेथासोन पहिलो यस्तो औषधी हो जो कोरोना बिरामीको ज्यान बचाउन सफल भइरहेको छ । बेलायत सरकारले डेक्सामेथासोन औषधिबाट कोरोना बिरामीको उपचारको अनुमति दिएको छ । यो एक पुरानो र सस्तो औषधि हो । अनुसन्धान टिमका नेतृत्वकर्ता डा. मार्टिन ल्याण्ड्रेले भनेका छन् कि जहाँ पनि उचित हुन्छ अब ढिलाइ नगरी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई यो औषधि दिइनुपर्छ । तर, बिरामीले डाक्टरको सल्लाहबिना यो औषधि आफैं किनेर भने खानु हुँदैन ।

बीबीसीका अनुसार डेक्सामेथासोनबाट खासगरी भेन्टिलेटर र अक्सिजन सपोर्टमा रहेका बिरामीहरुलाई फाइदा भएको पाइएको छ । यद्यपि हल्का लक्षण भएका बिरामीमा यो औषधिबाट के कति लाभ हुन्छ भन्ने पुष्टि हुन बाँकी छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडह्यानम घेब्रियेसुसले भने ‘यो पहिलो यस्तो उपचार हो जसबाट भेन्टिलेटर र अक्सिजन सपोर्टमा रहेका बिरामीको मृत्युदर घटिरहेको देखिएको छ । यो धेरै राम्रो खबर हो । म बेलायत सरकार, अक्सफोर्ड युनिभर्सिटी र अन्यलाई बधाइ दिन चाहन्छु ।’

ट्रायलमा पाइएअनुसार भेन्टिलेटरमा राखिएका बिरामीमा यो औषधि दिएपछि मृत्युको खतरा एक तिहाइ घटेको छ । जुन बिरामीलाई अक्सिजन दिनु आवश्यक हुन्छ उनीहरुमा यो औषधिपछि मृत्युको खतरा २० प्रतिशत घटेको छ । अनुसन्धानकर्ताहरुले यदि यो औषधि बेलायतमा पहिले नै उपलब्ध भएको भए अहिलेसम्म मृत्यु भइसकेकामध्ये ५ हजार जनाको ज्यान बचाउन सकिने अनुमान गरेका छन् । यो औषधि सस्तो पनि छ । प्रमुख अनुसन्धानकर्ता पिटर हार्बीका अनुसार अहिलेसम्म मृत्युको दर घटाउन सफल भएको यो एकमात्र औषधी हो । यो ठूलो सफलता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *