असोज २४ काठमाडौं । सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) प्रेस खरिदको ‘७० करोड कमिसन प्रकरण’मा मुछिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका नेकपा सांसद गोकुल बास्कोटा पुनः मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बास्कोटालाई पुनः मन्त्रिपरिषदमा फर्काउन लागेका हुन् ।मन्त्रिपरिषद हेरफेरको विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको छलफलका क्रममा ओलीले नयाँ मन्त्रीका रुपमा गोकुल बास्कोटाको नाम पनि अगाडि सारेका हुन् ।
मन्त्रिपरिषद हेरफेर गर्ने विषयमा अर्का अध्यक्ष प्रचण्डसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट मन्त्री बन्ने भनेर ६ जना सांसदको नाम अगाडि सारेका छन् ।बिहीबार दुई नेताबीच भएको छलफलमा ओलीले पार्टी महासचिव विष्णु पौडेलसहित पूर्व एमालेका तर्फबाट ६ जनाको नाम अगाडि सारेका थिए ।
ओलीले मन्त्रीका लागि महासचिव विष्णु पौडेलसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, तुलसा थापा, महेश बस्नेत र गोकुल बास्कोटाको नाम अगाडि सारेका हुन् ।ओलीले नयाँ मन्त्रीका लागि पूर्व एमालेका तर्फबाट ६ जनाको नाम अगाडि सारे पनि प्रचण्डले त्यसमा कुनै प्रतिक्रिया नदिएको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् ।
तर, कुन नेतालाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषयमा भने दुई अध्यक्षबीच सहमति जुट्न नसेकेको ती स्थायी कमिटी सदस्य बताउँछन् ।प्रधानमन्त्री ओलीले अहिले कायम रहेका ५ जना मन्त्रीलाई हटाएर ८ जना नयाँ मन्त्री ल्याउने प्रस्ताव प्रचण्डलाई सुनाएका थिए ।
थपिने ८ जना मन्त्रीमध्ये ५ जना पूर्व एमालेबाट र ३ जना पूर्व माओवादीबाट हुने जनाइएको छ ।ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा भएको छलफलबारे ‘जानकार’ नेकपा ती स्थायी कमिटी सदस्य पूर्व माओवादीबाट मन्त्री बन्ने २ जनाको नाममा सहमति जुटिसकेको पनि बताउँछन् ।
पूर्व माओवादीबाट जनार्दन शर्मा (प्रभाकर) र देवेन्द्र पौडेल मन्त्री बन्ने पक्का भइसकेको छ । दुई अध्यक्षबीच थप कुनै विषयमा विवाद वा सहमति नभए प्रभाकर र पौडेल मन्त्री बन्ने लगभग पक्कापक्की जस्तै भएको ती स्थायी कमिटी सदस्य बताउँछन् ।
नयाँ बन्ने मन्त्रीको पोर्टिफोलियो तोक्ने विषयमा प्रधानमन्त्री ओली पार्टीले ‘हस्तक्षेप’ नगरोस् भन्ने पक्षमा रहेका छन् ।उनले अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा पनि नयाँ बन्ने मन्त्रीहरुको पोर्टफोलियो आफैंले तोक्ने सन्देश दिएका छन् ।
