आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

असोज १४ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ।

कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा रु २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ। सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए।

मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म छ बैंकमा राखिएको छ।

ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ।

हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रु ३५ करोड, माछापुच्छ्रे बैंकमा रु १३ करोड, नेपाल एसबिआई बैंकमा रु १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी रु ९५ करोड मौज्दात छ।

ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *