बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

म्युजियममा दुई देश

काठमाडौँ — चैत्र २७ ।

एकातिर काँशी, अर्कोतिर लुम्बिनी । एउटै क्यानभासमा गान्धी र बुद्ध । अनि स्वयम्भू र ताजमहल । दुई देशको राष्ट्रिय प्रतीक स्वरुप झण्डाहरू पनि क्यानभासमा उत्तिकै हाबी छन् । तर, सांस्कृतिकता झल्काउन बौद्ध दर्ज्युले सघाउँछ ।

बौद्धस्थित तारागाउँ म्युजियममा जारी चित्रकला प्रदर्शनीले यति बेला यसरी नेपाल र भारतको सम्बन्ध प्रकाश पारिरहेको छ ।

सुशीला आर्टले एकेडेमीले गरेको प्रदर्शनीमा राखिएका कलाकृतिहरू आफैंमा दुई देश जोड्ने कला सेतु बनेका छन् । एउटै फ्रेममा एकातिर बनारस र अर्कोतिर लुम्बिनी प्रस्तुत गर्नु निकै अर्थपूर्ण देखिन्छ । यसले नेपालका हिन्दु धर्मावलम्बीहरूको बनारस कनेक्सन र भारतका बौद्ध धर्मावलम्बीहरूको लुम्बिनी कनेक्सन मात्रै प्रस्तुत गर्दैन्, लामो समयदेखि फैलिँदै आएको बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम चिर्न पनि सहयोग गर्छ ।

भारतको झण्डापट्टि गान्धी र नेपालको झण्डापट्टि बुद्धको फिगर उतारिएको कलाकृति पनि उत्तिकै अर्थपूर्ण लाग्छ । दुई देशबीचको सुमधुर सम्बन्धलाई प्रस्तुत गर्न एउटा कलाकृतिमा आआफ्ना राष्ट्रिय पोसाक लाएका दुई व्यक्ति एक अर्को सम्मानमा झुकिरहेको प्रस्तुत गरिएको छ । दुई देशको बीचको जनस्तरीय प्रगाढ सम्बन्धलाई पनि यो चित्रले प्रस्ट्याउँछ ।

आर्ट एकेडेमीका सदस्य कञ्चन पाण्डेका अनुसार नेपाल र भारतबीच रहँदै आएको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउन प्रदर्शनी गरिएको हो । ‘दुई देशका समग्र सांस्कृतिकबारे जागरूकता बढाउन र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन प्रदर्शनी गरेका हौं,’ उनले भनिन् ।

प्रदर्शनीमा नेपालमा विभिन्न जनजातिको सांस्कृतिक विविधतासँगै भारतीय संस्कृतिको भावनालाई पनि साझा गरिएको छ । कतिपय चित्रहरूमा बुद्ध, गणेश, शिवजस्ता दुवै देशमा प्रचलित साझा सांस्कृतिक र धार्मिक प्रतीक छन् । त्यस्तै, कुमारीको चित्रले नेपाल झल्काउँछ । संस्कृतिसँगै प्रकृति झल्किने कलाकृति पनि प्रदर्शनीमा छन् ।

नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक समानताका पक्षलाई कलाकृतिहरूले थप प्रकाश पारेको चित्र अवलोकन गर्न आएका धुम्बाराईका राकेश संघाईले बताए । ‘दुवै देश सँगसँगै हिँडिरहेको महसुस भयो,’ उनले भने । प्रदर्शनीमा तैल, एक्रेलिकलगायतका माध्यम अपनाइएका ८९ वटा कलाकृतिहरू छन् । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय दूतावाससितको सहकार्य रहेको प्रदर्शनी वैशाख १ गतेसम्म जारी रहनेछन् ।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *