काठमाडौं — १४, माघ ।
चीन सरकारले कोटेश्वर–कलंकी सडकखण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रमविच प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गर्नुभएको हो ।
चीनले पाँच वर्षसम्म लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडकखण्ड विस्तार गरेको थियो ।
लगभग ५ अर्ब को अनुदान सहायतामा चीनले उक्त सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हाे । चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले त्यस सडक खण्डको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार प्रकट गर्नुभयो । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पुर्याउँदै आएको सहयोगको समेत उक्त अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यारहित रहेको पनि उल्लेख गर्नुभयो । उहाँले नेपाललाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनिया राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको जनाउनु भयो ।
काठमाडौंको करिव २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सडक विस्तारको काम सकिएपश्चात यो सडक आधुनिक स्वरुपमा देखिएको छ ।
