कात्तिक २ काठमाडौं । कोरोना भाइरसको संक्रमण भइ घरमै आइसोलेशनमा रहेका बेला मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न पाउने व्यवस्था सरकारले गरेको छ।
सरकारले हालै ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि’ मा संशोधन गरी घरमै आइसोलेशनमा संक्रमितको निधन भएमा आफन्तले शव व्यवस्थापन गर्न पाउने व्यवस्था गरिएको हो।
संशोधित कार्यविधिमा भनिएको छ, ‘कुनै व्यक्तिको घरकै आइसोलेशनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्छ।
परिवारका सदस्यहरु र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिले सजगता अपनाई अन्त्येष्टि गर्नु पर्छ । यस्तो कार्यमा बच्चा र ६० वर्षभन्दा माथिका नागरिकसहित जोखिम समूहमा पर्ने व्यक्ति समावेश गराउनु हुँदैन ।’
कार्यविधिमा अघि भनिएको छ, ‘व्यक्तिगत सुरक्षाका सामग्री लगाएर शवलाई र्याप गरी बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले नै गर्नु पर्छ । आइसोलेशनमा राखेको स्थानबाट शव बोक्ने गाडीसम्म शव पनि आफन्तले नै लैजानु पर्छ । शव बहान नभएको स्थानमा शव बोक्न प्रयोग हुने खट बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्छ र उनीहरुले सुरक्षा सामग्रीको प्रयोग गर्नु पर्छ ।’
संशोधन पूर्वको मापदण्डमा अस्पतालमा मृत्यु भएका संक्रमितको व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गर्न सक्ने व्यवस्था थियो । घरमै मृत्यु भएमा के गर्ने भन्ने कार्यविधिमा उल्लेख थिएन । घरमै मृत्यु भएकाहरुको पनि आफन्तले जानकारी गराएपछि केन्द्रले व्यवस्थापन गर्ने गरेको थियो ।
घरमै आइसोलेशनमा मृत्यु भएको जानकारी आफन्तले स्थानीय तह गराएपछि स्थानीय तहले जिल्ला समन्वय समिति वा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई खबर गर्ने छ ।
त्यसपछि आवश्यक सामग्रीसहितको शव व्यवस्थापन गर्न टोली खटिनेछ । आफन्तले शव वहानसम्म ल्याएपछि सावधानी अपनाएर व्यवस्थापन हुने व्यवस्था गरिएको छ ।
परिवारका सदस्यहरूले अनुहार हेर्न चाहेमा बडी ब्यागमा राख्नुअघि नै दुई मिटर परबाट हेर्न सकिने कार्यविधिमा उल्लेख छ ।
कोभिड–१९ बाट हुने मृत्युको परिभाषा पनि परिमार्जन संशोधित कार्यविधिमा कोभिड–१९ बाट हुने मृत्युको परिभाषा पनि केही परिमार्जन गरिएको छ ।
कार्यविधिमा भनिएको छ, ‘कोभिड–१९ बाट मृत्यु भन्नाले कोभिड–१९ का लक्षण तथा चिन्हहरु र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरुलाई भन्ने बुझ्नु पर्दछ ।’ अर्थात कोरोना पुष्टि भएका वा सम्भावित (लक्षण देखिएका) को मृत्यु भएमा कोरोनाबाट मृत्यु भएको मानिने छ ।
यसअघिको कार्यविधिमा लक्षण, चिन्ह वा प्रयोगशाला निदानमा सम्भावित संक्रमित भनिएमा पनि पुष्टि नभएसम्म कोरोनाबाट मृत्यु भएको मानिदैनथ्यो ।
अब भने लक्षण, चिह्न र प्रयोगशालाको निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशलाई पनि कोरोनाले मृत्यु भएको मानिने गरी परिभाषा परिवर्तन गरिएको हो ।
संशोधित कार्यविधि असोज २५ गते मन्त्री स्तरीय बेठकबाट स्वीकृत गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
