असोज ६ काठमाडौं ।सत्तारुढ दल नेकपाले संवैधानिक आयोगहरुमा पदपूर्ती गर्न सरकारलाई आग्रह गरेको छ ।बैठकले संवैधानिक परिषद्को बैठक राख्न पहल गर्न सरकारलाई अनुरोध गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तीको पहल गर्न अनुरोध गरेको छ । बैठकलाई सुचारु गर्न र पदपूर्ती गर्ने प्रकृयामा अघि बढ्न बैठकले सबैलाई अनुरोध गरेको छ ।’
बैठकले सांगठनिक सुद्धीकरणका बाँकी कामलाई पूरा गर्न १० दिन भित्रमा ठोस प्रस्ताव पेस गर्ने जिम्मेवारी दुई अध्यक्ष र महासचिवलाई दिएको उनले जानकारी दिए । उक्त प्रस्ताव आगामी सचिबालय बैठकमा प्रस्तुत गर्ने र छलफल पछि टुंगोमा पुग्ने निर्णय बैठकले गरेको छ।
विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई तीनदिन भित्र अर्को बैठक बसेर निष्कर्ष निकाल्ने निर्णय भएको उनले जानकारी दिए ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा पनि कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए । ‘अस्ति भएको छलफल बाहेक अन्य छलफल भएको छैन’ उनले भने ।
