भदाै २२ काठमाडाैं । स्पेनिस फरवार्ड अन्सु फाटीले ९५ वर्ष पुरानो राष्ट्रिय रेकर्ड तोडेका छन्।१७ वर्षीय फाटीले आइतबार राति भएको युइएफए नेसन्स लिगअन्तर्गत युक्रेनविरुद्धको खेलमा गोल गरेर देशका लागि कान्छा अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्ड बनाएका हुन्।
खेलमा स्पेनले युक्रेनलाई ४-० गोलले पराजित गर्यो। उसका लागि सर्जियो रामोसले खेलको तेस्रो र २९ मिनेटमा पेनाल्टीमा गोल गरे।फाटीले ३२ मिनेटमा स्पेनका लागि तेस्रो गोल गरेका थिए। यस्तै फोरान टोरेसले ८४ मिनेटमा स्पेनका लागि चौथो गोल गरे।
युक्रेनविरुद्ध गोल गर्दा फाटी १७ वर्ष ३ सय ११ दिन उमेरका थिए। जससँगै उनी स्पेनका लागि अन्तर्राष्ट्रिय गोल गर्ने कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भए।यसअघि यो रेकर्ड जुवान इराक्विनको नाममा थियो। उनले सन् १९२५ मा स्विट्जरल्यान्डविरुद्ध १८ वर्ष ३ सय ४४ दिनको उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए।
बार्सिलोनाका फरवार्ड फाटीले यसअघि युरोपियन च्याम्पियन्स लिगमा गोल गर्ने कान्छा खेलाडीको रेकर्ड बनाएका थिए। उनले गत डिसेम्बरमा इन्टर मिलानविरुद्ध गोल गरेर उक्त रेकर्ड बनाएका थिए।त्यसअघि उनले बार्सिलोनाका लागि ला लिगामा गोल गर्ने कान्छा खेलाडीको रेकर्ड बनाएका थिए।गुयनामा जन्मिएका फाटी ६ वर्षको उमेरमा स्पेनमा आएका थिए।
जितसँगै समूह ए-४ मा स्पेन शीर्ष स्थानमा उक्लिएको छ। उसको २ खेलबाट ४ अंक छ। दोस्रो स्थानको युक्रेनको ३ अंक छ। जर्मनी २ अंकसहित तेस्रो र स्विट्जरल्यान्ड १ अंकसहित चौथो स्थानमा छ।
