बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अबको अर्थमन्त्री पौडेल कि पाण्डे ?

भदाै २२ काठमाडौँ । राष्ट्रियसभामा दोस्रो कार्यकाल नियुक्त नभएपछि डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिएसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको खोजी भइरहेको छ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको उत्कट इच्छाविपरीत खतिवडालाई पुनः नियुक्ति गर्न पार्टीले अस्वीकार गरेपछि बाँकी अवधिका लागि नयाँ व्यक्तिले अर्थमन्त्री बन्ने अवसर पाउने भएका छन्।

तत्कालका लागि प्रधानमन्त्री ओलीले आफैँले अर्थमन्त्रालयको जिम्मेवारी लिए पनि अब स्थायी समिति बैठकलगत्तै मन्त्रिपरिषद् पुनः गठन हुने पक्कापक्की जस्तै भएको छ।पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयनको ठोस कार्ययोजनासहित स्थायी समितिमा पेश गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको छ।

सोमबार बिहान ओली र प्रचण्डबीच यही भदौ २६ गते पार्टी स्थायी समितिको बैठक बोलाउने सहमति भएको छ। बालुवाटार निकट स्रोतका अनुसार स्थायी समितिको बैठक एक दिन मात्र राखेर अध्यक्षको प्रस्ताव अनुमोदन गर्ने गरी तयारी अघि बढाइएको छ।स्रोतले भने, ‘बैठक शुक्रबार अध्यक्षको प्रस्ताव अनुमोदन गर्नका लागि एक दिन मात्र बस्छ। कोरोना महामारीको अवस्थामा धेरै दिन बैठक चलाउन हुँदैन भन्नेमा अध्यक्ष ज्यूहरु सहमत देखिनुहुन्छ। त्यस लगत्तै मन्त्रिपरिषद पुनः गठनको काम अघि बढ्छ।’

पार्टीभित्रको अन्तर संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद् पुनः गठन गर्ने तयारी भइरहेको र त्यही बेला खतिवडाको कार्यकाल सकिएकाले केही समयका लागि ओलीले आफैँसँग अर्थमन्त्रालयको जिम्मेवारी राखेका हुन्।खाली रहेको अर्थ मन्त्रालयको जिम्मेवारी दिन नेकपाका दोस्रा तहका नेताहरुले दौडधूप तीव्र बनाएका छन्। स्रोतका अनुसार पूर्वअर्थमन्त्री भइसकेका महासचिव विष्णु पौडेल र नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन्।

ओली निकट नेताले देश सञ्चारसँग भन्यो, ‘अर्थमन्त्री बन्ने दौडमा महासचिव र सुरेन्द्रजी अगाडि हुनुहुन्छ। निर्णय हुने बेलासम्म कसले बाजी मार्छ भन्न सकिँदैन।’ उनीहरुको सबल र दुर्वल पक्षबारे लेखाजोखा भइरहेको छ।

आफूलाई हरहमेशा साथ दिँदै आएका पौडेल अर्थको जिम्मेवारी लिन तयार भए पनि ओली आफैँले विश्वास भने गरिनसकेको बताइन्छ। अर्थतन्त्रका बारेमा खासै बुझाइ नभएको र पछिल्लो समय गौतमलाई राष्ट्रियसभामा लैजान आफूमाथि दबाब सिर्जना गर्न पौडेलले भूमिका खेलेको भन्दै ओली उनीसँग असन्तुष्ट रहेको स्रोतको दाबी छ।

तथापि पार्टीका हर संकटमा साथ दिँदै आएको र भविष्यका नेताका रुपमा समेत हेरिएकाले पौडेलको संभावना बलियो रहेको बालुवाटार स्रोतको दाबी छ।नेकपाभित्र अर्थराजनीति बुझेका पाण्डे उक्त पदका लागि योग्य भए पनि इतर खेमाका भएकाले ओलीले जिम्मेवारी दिन हिचकिचाइरहेका छन्।

सरकार गठन भएदेखि नै मन्त्री बन्न अग्रसर भइरहे पनि पार्टीका पछिल्ला संघर्षमा ओलीलाई पदबाट हटाउनुपर्छ भन्ने अभियानमा अग्रणी भूमिका खेलेकाले उनीप्रति पनि ओली त्यति सकारात्मक नभएको विश्लेष्ण नेकताभित्र भइरहेको छ।

तर ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री र अध्यक्ष रहने गरी दुई अध्यक्षबीच भएको सहमितलाई औपचारिकता दिन गठित कार्यदलमा बसेर सहयोग गरेकाले पाण्डेको सम्भावना बलियो देखिन्छ। नेकपा वृत्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई अर्थमन्त्री बनाउन भूमिका खेलिरहेको चर्चा छ, जुन उनका लागि सकारात्मक पक्ष हो।

अर्थमन्त्री बन्ने आकांक्षा नेकपाले पार्टीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेका उपाध्यक्ष वामदेव गौतमले व्यक्त गरेका छन्। उनलाई बिहीबारको सचिवालय बैठकले मनोनित गर्न सरकारलाई सुझाव दिए पनि प्रधानमन्त्री ओलीले उक्त सुझावलाई मन्त्रिपरिषद्बाट निर्णय गराएका छैनन्।

आफ्नो चाहना विपरीतको निर्णय भएकाले ओलीले त्यसलाई कार्यान्वयन गर्न नपरोस् भन्ने बहाना खोजिरहेका छन्। गौतमलाई सकेसम्म राष्ट्रियसभा सदस्य र मन्त्री नै बनाउनु नपरोस् भन्ने चाहना राखिरहेका बेला अर्थ जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने संभावना कम रहेको नेकपाकै नेताहरु बताउँछन्।एक स्थायी समिति सदस्य भन्छन्, ‘वामदेवजीको चाहना अर्थमा जाने देखिए पनि त्यसलाई प्रधानमन्त्रीले पूरा गर्लान् जस्तो लाग्दैन।’

अर्थशास्त्रका जानकार रहेका नेकपाका नेता डा. विजय पौडेले अर्थराजनीति बुझेको व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताउँछन्। उनले देश सञ्चारसँग भने, ‘नेकपामा अर्थमन्त्रालय चलाउन सक्ने नेता थुप्रै हुनुहुन्छ। त्यसमाथि पनि अर्थराजनीति बुझेको व्यक्तिलाई नै प्रधानमन्त्रीले जिम्मेवारी दिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *