युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो।
उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।
बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।
पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा उनलाई तेजाब छ्यापिएको थियो।
प्रहरीका अनुसार उनको गालामा एसिड लागेको छ। उनको अवस्था सामान्य नै छ। पीडितले एसिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन्। घटनालगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको हो। उनीहरूविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।
