काठमाडौं । कोरोनाको जोखिमबाट बच्न सतर्कता नअपनाउने ३० वटा सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । सामाजिक दुरी कायम नगरी यात्रु ओसार पसार गर्ने यात्रुवाहक सवारीलाई शनिवार दिनभर होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सार्वजनिक यातायातमा चढ्ने यात्रुलाई मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र चालकले पञ्जा र मास्क लगाउन अनिवार्य गरिएको छ । सिटको क्षमताको आधा यात्रु चढाउन पाउने र तोकिएको भन्दा ५० प्रतिशत भाडा लिन पाउने शर्त पालना गराउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
सतर्कता नअपनाउने सवारी साधनलाई होल्ड गरेर संझाई बुझाई छाडिएको ट्राफिक महाशाखाका एसएसपी भिम प्रसाद ढकालले जानकारी दिए । प्रहरीले सुरक्षा सतर्कता अपनाउन र एकपटक रुट परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्न आग्रह गर्दै ५ सय ५८ वटा भाडाका सवारीलाई सचेत गराएको छ ।
