बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

बनारसमा नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारतले कारबाही थाल्यो

काठमाडौँ, साउन ३ । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिएका हुन् । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो ।

मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिएको राजदूत आचार्यले बताए ।“नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई बिथोल्न र खल्बलिन हामी दिँदैनौँ,” भनेर मुख्यमन्त्री आदित्यनाथले आश्वस्त पारेको राजदूत आचार्यले सुनाए ।

विश्वहिन्दु सेनाका कार्यकर्ताले त्यहाँस्थित एक नेपालीलाई जबरजस्ती केसमुण्डन गरी टाउकोमा श्रीराम लेखेर प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएको भिडियो सार्वजनिक गरेका थिए । साथै बनारसको ललिताघाटस्थित पशुपतिनाथको मन्दिरमा नेपाल विरोधी पोस्टरसमेत टाँसिएका थिए । यो मन्दिर नेपालका तात्कालिन राजा रणबहादुर शाहले आफू प्रवासमा रहँदा निर्माणगरेका थिए । सो घटनालाई लिएर प्रहरीले सङ्घका संस्थापक अध्यक्षविरुद्ध नै उजुरी दर्ता गरेको बताइएको छ । 

प्रधानमन्त्री ओलीले नेपालमा रामसँग सम्बन्धित विषयमा थप अनुसन्धान हुनसक्ने बताउनुभएको थियो । साथै यस घटनालाई लिएर नेपालको कसैको भावनामा चोट पुर्याउने आशय नरहेकोसमेत सरकारले स्पष्ट पारेको छ ।

-गोरखापत्र दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *