शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

मंसिर २५ देखि २९ सम्म किम्फको १७ औं संस्करणमा ६६ फिल्म

काठमाडौं ,अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको १७ औं संस्करणमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने भएको छ। पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ। नेपाली पानारोमाअन्तर्गत यस पटक १४ वटा फिल्म समावेश छन्।

नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स लोन्ली गोर्खाज, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म समावेश छन्। महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्। ‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानक विधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ। यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिने छन्।

यस बाहेक महोत्सवमा तीन वटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी गरिनेछ। स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ। माफिल कोट्स (बेलायत), जे. क्यु ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *