काठमाडौँ — चैत्र १७ ।
नेपाल लगानी सम्मेलन २०१९ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । सरकारले प्रस्तुत गरेका आयोजना र निजी क्षेत्रले घोषणा गरेका क्षेत्रमा लगानीको प्रस्ताव आएको हो ।
लगानी बोर्ड कार्यालय स्रोतका अनुसार सरकारले प्रस्तुत गरेका ५० आयोजनामध्ये ११ वटामा लगानी गर्न १७ प्रस्ताव पेस भएका छन् ।
११ आयोजनाको अनुमानित लागत हालको विनिमय दरअनुसार १२ खर्ब १२ अर्ब १७ करोड रुपैयाँ हुन्छ । निजी क्षेत्र, सरकार र दातृ निकायबीच १७ आयोजनामा लगानी गर्ने समझदारी भएको छ । यो समझदारीका आयोजनाको लागत ५ खर्ब १३ अर्ब रुपैयाँ छ ।
अन्य एक लगानीकर्ताले ६ अर्ब ५० करोड रुपैयाँ लगानीमा बल्क टर्मिनल लजिस्टिक पार्क बनाउने प्रस्ताव गरेका छन् ।
सरकारले प्रस्तुत गरेका आयोजनामा आगामी दिनमा लगानीको प्रस्ताव बढ्ने अनुमान बोर्डले गरेको छ । ‘५० आयोजनामा वैशाख पहिलो साता (अप्रिल २०) सम्म लगानीको प्रस्ताव पेस गर्न पाइन्छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले कान्तिपुरसित भने । प्रस्ताव पेस गरिसकेका कम्पनीको नाम भने बोर्डले सार्वजनिक गरेको छैन ।
‘योग्यता नपुगेका केही कम्पनीले पनि प्रस्ताव पेस गरेका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘त्यस्ता कम्पनीको प्रोफाइल नहेरी उनीहरूको विषयमा निष्कर्षमा पुग्न सकिँदैन ।’ प्रस्ताव पेस गर्ने समय सकिएलगत्तै ती कम्पनीलाई लगानी गर्न दिने/नदिने निर्णय गरिने बोर्डले जनाएको छ । सरकारले साढे ३० खर्बका ५० आयोजनामा लगानी गर्न आह्वान गरेको थियो ।
चौधरी ग्रुपले करिब एक खर्बका ४ वटा आयोजनामा लगानी गर्ने समझदारी गरेको छ । ग्रुपले लजिस्टिक पार्क, सोलार र दूरसञ्चार क्षेत्रमा लगानी गर्न समझदारी गरेको हो । चौधरी ग्रुपले सर्राफ ग्रुपसँग मल्टी मोडल लजिस्टिक पार्कका लागि करिब १० अर्बको समझदारी गरेको छ । स्काई पावरसँगको सहकार्यमा चौधरी ग्रुपले नेपालमा ६ सय मेगावाटको सोलार ऊर्जा आयोजनाका लागि सम्झौता गरेको छ । उक्त आयोजनाको अनुमानित लागत करिब ५० अर्ब छ ।
चौधरी ग्रुपअन्तर्गतको सीजी लाइफसेल र टर्कसेलबीच नेपालमा फाइभजी मोबाइल नेटवर्क विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसको लागत करिब २५ अर्ब हुने चौधरी ग्रुपले जनाएको छ । यस्तै, ग्रुप अन्तर्गतको सीजी इन्फ्रास्ट्रक्चर र प्रदेश २ सरकारबीच २ सय मेगावाट सोलार प्लान्ट स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्लान्ट स्थापनाका लागि १२ अर्ब लाग्ने अनुमान छ । ‘सबै गरेर करिबएक खर्ब लगानी गर्दैछौं,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए ।
चौधरी ग्रुपसँग नेपालमा सौर्य आयोजना निर्माणका लागि समझदारी गरेको क्यानडाका स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी उड्लरले सोलारको प्यानल नेपालमै एसेम्बल गर्ने गरी प्लान्ट स्थापना गर्ने बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँ लगानी भित्र्याउने सरकारसँग समझदारी भएको छ । लगानी सम्मेलनको दोस्रो दिन उक्त रकम नेपाल सरकारको प्राथमिकताका आयोजनामा लगानी गर्ने प्रतिबद्धतासहितको समझदारी भएको हो ।
समझदारीपत्रमा सरकारका तर्फबाट उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह र संघका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन् । ‘सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा गैरआवासीय नेपालीको सहभागिताका निम्ति एउटा सामूहिक लगानी कोष खडा गने विषयमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुनअनुसार कम्पनी खडा गरिने छ ।’
प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिबद्धतासहित समझदारी भएको हो । ‘यस कोषमार्फत नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना–ठूला परियोजनाहरूमा लगानी गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।
आईएफसीको लगानी सेजमा
सिमरामा बन्ने विशेष आर्थिक क्षेत्र (सेज) मा आईएफसीले लगानी गर्ने भएको छ । सेज निर्माणका लागि आईएफसी, लगानी बोर्ड र सेज प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट, आईएफसीकी क्षेत्रीय प्रबन्धक वेन्डी वेर्नर र आईएफसीका वरिष्ठ लगानी अधिकृत पंकज सिन्हाले समझदारीमा हस्ताक्षर गरेका हुन् ।
सिमरामा बन्ने सेजको लागतसहितको अध्ययनका लागि आईएफसीको टोली आगामी हप्ता आउने सेज प्राधिकरणले जनाएको छ । यसअघि गरिएको अध्ययनमा सेज निर्माणको लागि करिब ५ अर्ब लागत अनुमान गरिएको भए पनि अन्तर्राष्ट्रियस्तरको मापदण्डमा निर्माण गर्दा लागत १० अर्ब पुग्ने सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्टले बताए ।
जुट्यो अरुण तेस्रोमा लगानी
लगानी बोर्डको सहजीकरणमा निर्माण सुरु गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटेको छ । सम्मेलनकै अवसर पारेर यो आयोजनामा स्टेट बैंक अफ इन्डिया (एसबीआई) सहित नेपाली नबिल बैंक र एभरेस्ट बैंकले लगानी गर्ने समझदारी गरेका छन् ।
भारतीय सतलज कम्पनी प्रवर्द्धक रहेको आयोजनामा एसबीआई बैंकले ६५ अर्ब ६० करोड लगानी गर्ने भएको छ । आयोजनामा एभरेस्ट बैंकले ८ अर्ब १२ करोड र नबिल बैंकले करिब ४ अर्ब ८७ करोड लगानी गर्ने समझदारी गरेका हुन् ।
ऊर्जामा बढी लगानी
लगानी सम्मेलनका क्रममा गरिएका समझदारीमा बढी लगानी ऊर्जाका लागि छन् । शनिबार नै सिन्हुवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसनबीच १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको समझदारी भयो । उक्त आयोजनाका लागि करिब ४२ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।
यस्तै, २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीले करिब ७२ अर्ब लगानीको घोषणा गरेको छ । अपी पावर कम्पनी र कँडेल ग्रुपअफ कम्पनीबीच नेपालमा ऊर्जा विकासका लागि करिब १ खर्ब ७५ अर्ब बराबरको समझदारी भएको छ ।
१८ मेगावाटको सोलार प्लान्ट, ९८ मेगावाटको जलविद्युत् आयोजना र १० मेगावाटको वायु ऊर्जा उत्पादनका लागि समझदारी भएको हो । डोल्मा फन्डले पनि १५० मेगावाटको सोलार प्लान्ट स्थापनाका लागि ग्रान्ड फन्डबाट करिब २ अर्ब बराबरको लगानी स्वीकृति पाएको घोषणा शनिबार सम्मेलनको क्रममा गरिएको छ । यसबाहेक ५ सय ५० मेगावाट क्षमताको अर्को सोलार प्लान्ट स्थापना गर्न एक स्वतन्त्र कम्पनीले प्रस्ताव पेस गरेको छ । यो कम्पनीले गरेको प्रस्ताव र लागत खुलाइएको छैन ।
थप आधा दर्जन प्रस्ताव
भारतको नेसनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेडबीच नेपालमा अन्न भण्डारण केन्द्र स्थापनाको समझदारी भएको छ । पहिलो वर्ष डेढ अर्ब र ५ वर्षमा २० अर्ब रुपैयाँ लगानी गरी केन्द्र स्थापना गर्ने नेपाल वेरहाउस कम्पनीले जनाएको छ ।
सिन्सियर कन्सल्टिङ कम्पनी र हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बुटिङ भिलेज निर्माणका लागि समझदारी शनिबार भएको छ । पर्यापर्यटनको लक्ष्यसहित स्थापना गर्नलागिएको रिसोर्टको कुल लागत करिब ६ अर्ब हुने अनुमान छ ।
लगानी सम्मेलनको दोस्रो दिन शनिबार लगानी बोर्ड र दक्षिण अफ्रिकी लगानी बोर्डबीच पनि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी संघले पनि म्यानमारको निर्माण व्यवसायी संघसँग सहकार्यको समझदारी गरेको छ । म्यानमारको निर्माण व्यवसायीले नेपालको कुनै क्षेत्रमा लगानी गर्ने नेपाल निर्माण व्यवसायी संघले सहजीकरण गर्ने समझदारीमा उल्लेख छ ।
सयभन्दा बढी बैठक
सम्मेलनका क्रममा भएका समझदारी र आवेदनलाई लगानी बोर्डले सम्मेलनको उपलब्धि भनेको छ । सम्मेलनमा ७ सय ३५ विदेशी पाहुना र ६ सय बढी स्वदेशी उद्यमी सहभागी भएको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ३ सय बढी अन्तर्राष्ट्रिय कम्पनीले सहभागिता जनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जनाए ।
सम्मेलनको क्रममा ३६ वटा द्विपक्षीय बैठक, ३९ वटा व्यवसायी–सरकारको बैठक, ३० वटा व्यवसायी–व्यवसायी बैठक भएको बोर्डले जनाएको छ । सम्मेलनले सम्भावित लगानीकर्तालाई नेपाल र अन्तरदेशीय बजारबारे जानकारी गराएको र नेपालले सुधार गरेको कानुनबारे जानकारी गराइएको भन्दै बोर्डले यसलाई उपलब्धि भनेको छ ।
११ आयोजनामा आवेदन
काठमाडौ रिंगरोड बस र्यापिड ट्रान्जिट परियोजना– १६ अर्ब ५४ करोड
तमोर जलाशय परियोजना– १ खर्ब ४९ अर्ब ३६ करोड
धुलिखेल मेडिसिटी– ८ अर्ब १८ करोड
पश्चिम सेती जलविद्युत् आयोजना– १ खर्ब ६३ अर्ब ७४ करोड
काठमाडौं बाहिरी चक्रपथ– २ खर्ब ७ अर्ब ७४ लाख
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल– ३ खर्ब ३१ अर्ब ९२ करोड
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर– १ अर्ब ७७ करोड
एकीकृत कृषि पूर्वाधार परियोजना बनेपा र चितवन– ४९ करोड
एकीकृत कृषि पूर्वाधार परियोजना हेम्जा– ६२ करोड २९ लाख
एकीकृत कृषि पूर्वाधार परियोजना उर्लाबारी– ६० करोड २९ लाख
काठमाडौं मेट्रो– ३ खर्ब ३१ अर्ब ९२ करोड
१५ समझदारीमा हस्ताक्षर
चौधरी ग्रुप र सर्राफ ग्रुप– मल्टी–मोडल लजिस्टिक पार्क– १० अर्ब
चौधरी ग्रुप र स्काई पावर– ६ सय मेगावाटको सोलार– ५० अर्ब
सीजी लाइफसेल र टर्कसेल– फाइभजी मोबाइल नेटवर्क– २५ अर्ब
प्रदेश २ र सीजी इन्फ्रास्ट्रक्चर– २ सय मेगावाट ऊर्जा प्लान्ट–१२ अर्ब
एसबीआई बैंक, एभरेस्ट बैंक, नबिल बैंक र सतलज– ९ सय मेगावाटको अरूण तेस्रो– ७८ अर्ब ६० करोड
सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसन– १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माण– ४२ अर्ब
आईएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण– सिमरा विशेष आर्थिक क्षेत्र– अनुमानित १० अर्ब
सिन्सियर कन्सल्टिङ कम्पनी र रिसोर्स हिमालय बुटिक भिलेज रिसोर्ट– बुटिक भिलेज– ६ अर्ब
एनआरएन र उद्योग विभाग– प्रत्यक्ष वैदेशिक लगानी– १० अर्ब
नेसनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेड– अन्नबाली भण्डारण केन्द्र– २० अर्ब
कोरियाली कम्पनी– २१६ मेगावाटको माथिल्लो त्रिशूली–१– ७२ अर्ब ८० करोड
भारतीय मुतुथ ग्रुपद्वारा नेपालको युनाइटेड फाइनान्समा– ४० करोड
अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनी– नेपालमा ऊर्जा विकास– १ खर्ब ७५ अर्ब
डोल्मा फन्ड– २ अर्ब
बल्क टर्मिनल लजिस्टिक पार्क– ६ अर्ब ५० करोड
(कान्तिपुर दैनिक)
