शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

१८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप बढेपछि अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए।

“यहाँ स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ वटा अक्सिजन कन्सन्ट्रेटर अहिले जडान गरियो”, उनले भने, “यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ।” हाल महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेको उनले जानकारी दिए।

“युनिसेफको सहयोगमा अब अस्पतालले नै अक्सिजन आपूर्ति गर्ने भनेका छौँ”, डा श्रेष्ठले भने, “अक्सिजन आपूर्तिका लागि यहाँको निजीस्तर र स्थानीय तहबाट पनि आर्थिक सहयोग भएको छ।” अस्पतालको अस्थायी कोरोना अस्पताल, आइसीयू र आकस्मिक कक्षमा सङ्क्रमितको उपचार भइरहेको छ। छ शय्या रहेको अस्पतालको आइसीयू कक्ष कोरोनाको दोस्रो लहर शुरु भएयता सङ्क्रमितले भरिभराउ छ।

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना सङ्क्रमणको दोस्रो लहरमा कञ्चनपुरमा पुरुष तथा महिला गरी ११५ जनाले ज्यान गुमाइसकेको जनाएको छ। कार्यालयका प्रमुख शिवराज सुनारले जिल्लाभर हाल पाँच हजारभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए।

“एन्टिजेन र पिसिआर परीक्षणबाट यहाँ पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएका छन्”, उनले भने, “एक/दुई दिनयताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर न्यूनरूपमा घटिरहेको देखिन्छ।” उनले भारतबाट स्वदेश फर्किने नेपालीको यहाँको गौरीफन्टा नाका र गड्डाचौकी नाकामा दिनहुँ कोरोना परीक्षण भइरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *