अमेरिकाले कोरोनाभाइरस खोपलाई बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत नराख्ने विश्व व्यापार सङ्गठनमा अघि बढाइएको अभियानलाई समर्थन गरेको छ।
भारत र दक्षिण अफ्रिकाले विश्वव्यापी रूपमा खोप उत्पादन वृद्धिका लागि मद्दत गर्ने भन्दै उक्त प्रस्ताव अघि सारेका हुन्। तर औषधि उत्पादकहरूले अहिले गरिएको प्रस्तावले सोचे अनुरूपको परिणाम दिन नसक्ने तर्क गरिरहेका छन्।
अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले अहिलेको अभूतपूर्व समयमा अभूतपूर्व कदम चालिनुपर्ने बताइन् । खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न डब्लुटिओ सदस्यहरुलाई समय लाग्ने सक्ने उनले बताएकी छन् ।
भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोपको पेटेन्ट राइट पाखा लगाएर सबैलाई उत्पादन अधिकार दिनु पर्ने माग गरिरहेका झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् । डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो ।
यस्तै बेलायत र युरोपियन युनियन पनि विरोधमा थिए । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनी अघिका ट्रम्पले भन्दा फरक मार्ग लिएका छन् । चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने बताएका बाइडेनले बुधबार त्यसलाई पुनः दोहोर्याएका हुन् । बीबीसी
