बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न (सीसीएमसी)को सुझाव

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित छलफल (ब्रिफिङ) मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’ हरूमा नेपालगञ्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् ।

यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका यातायात तत्काल बन्द गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन नभनिए पनि निषेधाज्ञा जारी गरिएको छ ।

नेपालगञ्ज शहरमा मात्र ७३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा त्यहाँ बाँके जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।

ठूला शहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको एक मन्त्रीले जानकारी दिएका छन् । सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस विषयमा प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा बुझाउन सीसीएमसीका अधिकारीलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *