बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने

 नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने भएको छ । लगानीका लागि ठाउँ खोजिरहेको निफ्राले यो क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको हो । यो क्षेत्रमा लगानी गर्नसक्ने ठाउँबारे बैंकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल सुरु गरेको छ । 

निफ्राको टोलीले यो क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा अघिल्लो साता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्य्र पाण्डे बताउँछन् । 

‘लगानीको नयाँ नयाँ क्षेत्र खोज्ने क्रममा हामी यो क्षेत्रमा लगानी गर्ने ठाउँ कहाँकहाँ छ भनेर क्यानसँग छलफल प्रारम्भिक छलफल गरेका छौं । क्यानले यसमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेको छ,’ पाण्डेले भने, ‘हामी प्रारम्भिक छलफलमै छौं । तर यो क्षेत्र हाम्रो लगानीको प्राथमिकतामा चाहिँ छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजुकमार क्षेत्री नागरिक उड्डयनको क्षेत्रमा बैंकले लगानीको इच्छा देखाउनु प्रशंसनीय रहेको भन्दै आफूहरुले लगानीका लागि सहज वातावरण निर्माण गर्न भूमिका खेल्ने बताए । ‘उहाँहरु कसरी लगानी गर्न सकिन्छ, हामी यो क्षेत्रमा लगानी गर्छौं भनेर छलफल गर्न आउनुभएको थियो । हामीले लगानी गर्ने क्षेत्रबारे जानकारी दियौं,’ क्षेत्रीले भने, ‘आवश्यकता अनुसार सहजीकरण गर्न पनि तयार छौं ।’

कहाँ कहाँ गर्न सकिन्छ लगानी ?

नागरिक उड्डयन क्षेत्र अन्तर्गत विभिन्न विमानस्थलको निर्माण एवं सञ्चालन तथा एयरलाइन्स कम्पनीको सञ्चालनमा अहिले लगानी गर्ने सम्भावना छ । तर, विमानस्थल निर्माणमा अहिले नै निजी क्षेत्रले सहभागिता जनाउन पाउँदैन । अहिले देशभरको विमानस्थलको निर्माण र सञ्चालनको अधिकार प्राधिकरणलाई मात्रै छ । 

अहिले संघीय संसदमा नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण स्थापनासम्बन्धी विधेयक विचाराधिन अवस्थामा छ । यो विधेयक पारित भएपछि भने विमानस्थलमा निजी क्षेत्रको सहभागिता खुला हुनेछ । एयरलाइन्स कम्पनीको सञ्चालन गर्न भने अहिले निजी क्षेत्रलाई अहिले पनि खुला नै छ । लगानीका यीनै सम्भावनाबारे छलफल भएको क्यानका प्रवक्ता क्षेत्री बताउँछन् ।

स्थापना भएको ३ वर्ष भइसकेको र सर्वसाधारणमा आईपीओ समेत जारी भइसकेको निफ्रालाई अब लगानस्कर्ताको उचित प्रतिफलका लागि प्रतिस्पर्धात्मक क्षेत्रमा लगानी बणउने दबाब छ । पछिल्लो समय निफ्राले लगानीका बहुआयामिक क्षेत्रको अध्ययन र छलफल अघि बढाइरहेको डेपुटी प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाई छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *