भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ चुनदेवीमा वासिङ मेसिनमा च्यापिएर एक महिलाको ज्यान गएको छ ।सूर्यविनायक–५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा कार्यरत ३८ वर्षीया कमला केसीको वासिङ मेसिनमा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिएका छन् ।
दोलखा भिमेश्वर नगरपालिका–९ लाकुरीडाँडा घर भई हाल भक्तपुर बस्ने केसी काम गर्ने क्रममा आइतबार अचानक वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा च्यापिएकी थिइन् ।
प्रहरीका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले बेहोस अवस्थामा केसीलाई फेला पारेपछि उपचारको लागि मध्यपुर अस्पताल ठिमी पुर्याएका थिए । अस्पतालका चिकित्सकले केसीलाई मृत घोषण गरेका थिए । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
