नेपालभर पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव अझै एक–दुई दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । थोरै स्थानमा हल्का वर्षा र केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसो २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् । ‘काठमाडौंमा २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना छ । यो निरन्तर वा बेलाबेलामा हुँदैन । छोटो समय मात्र हुन्छ’, उनले भनिन्, ‘भिजाउने खालको पनि वर्षा हुँदैन ।’
उनले आज देशका सबैजसो हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको बताइन् । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ । आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको मौसमविद् कँडेलले जानकारी दिइन् ।
