बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा,शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने

आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आएको छ । टी प्लस टु लागू भएपछि शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आज आइतबारबाट सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो । यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ र दुई दिनभित्र सम्पन्न हुने राफसाफ प्रक्रियालाई टी प्स टु’ भनिएको हो । 

यो व्यवस्था लागू भएपछि कारोबार भएको तेस्रो दिन अर्थात पर्सीपल्ट नै राफसाफ तथा फछ्र्याैट हुने सीडीएसका प्रमख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए । ‘कारोबार भएको दिनलाई गणना नगरी त्यसको दुई दिनमा राफसाफ प्रक्रिया सकिने हो,’ उनले भने ‘यसअघि कारोबारको तेस्रो दिनपछिमात्रै राफसाफ हुने गरेको थियो ।

उनका अनुसार नयाँ व्यवस्थाअनुसार अब धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फछ्र्याैटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टै जारी गरि सक्नुपर्नेछ । अब सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै कारोबार सेटल गरिसक्नु पर्ने हुन्छ । 

यदि यो सम्भव भएन भने कारण खुलाएर ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित शेयरधनीलाई बुझाउनु पर्नेछ । छिटो राफसाप भए शेयर किनेको मान्छेलाई पुनः शेयर बिक्री गर्न पनि चाँडै पाउँछन् । पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएको अवस्थामा ‘टी प्लस टु’ले बजारलाई राम्रो असर गर्ने देखिएको छ । 

लगानीकर्ताका लागि एक दिनको समय धेरै ठूलो हो । यसले महिनामा चार दिन थप गर्छ । चार दिनमा शेयर बजार कहाँ पुग्छ पुग् नि उनले भने । लगानीकर्ताको डिमाण्डमा सीडीएससीले यो व्यवस्था ल्याएको हो, सीईओ आचार्यले भने ‘लगानीकर्ताको हितमा ल्याइएको र उनीहरूलाई यसले थप जिम्मेवार पनि बनाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *