बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सरकारले करिब ५१ अर्ब पुँजीगत खर्च गरेर साढे चार खर्ब राजस्व संकलन ,पुँजीगत खर्च भने ५० अर्ब ८२ करोड मात्रै खर्च

सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ५१ अर्ब पुँजीगत खर्च गरेर साढे चार खर्ब राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म जम्मा साढे १४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षको यो अवधिमा सरकारले गरेको कुल खर्चमध्ये पुँजीगत खर्च भने ५० अर्ब ८२ करोड मात्रै खर्च गरेको हो ।

चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेपनि आर्थिक वर्षको आधा समय सकिँदासम्म पुँजीखर्च खर्चको अवस्था अत्यन्त न्यून देखिएको हो । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा १४.४० प्रतिशत पुँजीगत खर्च भएको छ ।

सरकारले पहिलो ६ महिना (साउनदेखि पुसमसान्तसम्म) मा कुल चार खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । सरकारले चालु आर्थिक वर्षको लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये चालु खर्चको लागि ९ खर्ब ४८ अर्ब ९४ करोड बजेट विनियोजन भएको हो ।  

सरकारले बजेटमार्फत एक खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फको खर्चमा बजेट विनियोजन गरेको हो । समीक्षा अवधिमा वित्तीय व्यवस्थातर्फ जम्मा १३ प्रतिशत (२२ अर्ब ७५ करोड) खर्च भएको छ । वित्तीय व्यवस्थाअन्तर्गत सरकारले सार्वजनिक संस्थानमा सेयर र ऋण लगानी गर्ने गरेको छ ।

६ महिनामा सररकारले ४ खर्ब ५५ अर्ब राजस्व संकलन गरेको छ । संकलित राजस्व लक्ष्यको करिब २० अर्बले कम हो । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पुससम्म ४ खर्ब ७५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो  । सरकारले साउनदेखि पुससम्मको यो अवधिमा ३ खर्ब ८६ अर्ब कर  राजस्व र ३५ अर्ब ७० करोड गैर कर राजस्व  संकलन गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *