आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हाउजिङ्ग नाममा पास गरिदिएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी/सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीको नाममा पास गरिदिएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ ८८ पैसा विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा पर्नेमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर रहेका छन् । मालपोत कार्यालय ललितपुर तत्कानिल कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेल साथै यूरो हाउजिङ्ग डेभलपर्स प्रालि,यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर रहेका छन्।

यस्तै मुद्दा पर्नेमा काठमाडौं अस्पताल प्रालिका संचालकहरू डा ईश्वरलाल आचार्य, डा दुर्गामान जोसी र श्रीमती दुर्गेस नन्दिनी भट्टचन पनि रहेका छन्।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम उक्त विगो जफतसमेत हुन मागदावी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गिरोहले ललितपुर महानगरपालिका वडा नम्बर २३ र २८ को कुल आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरिएको पुष्टि भएको छ ।  २०२२ सालको नापी नक्सालाई तोडमोड गरि नयाँ फाइल नक्सा बनाएर सार्वजनिक जग्गासमेत प्लटिङ गरे व्यक्ति विशेषलाई बिक्री वितरण गर्न लागेको उजुरीपछि अख्तियारले छानविन थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *