बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मल्लकालीन शैलीमा कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासकीय भवन बन्ने

कागेश्वरी मनोहरा नगरपालिकाले जिल्ला समन्वय समिति काठमाडौँको आर्थिक अनुदानमा प्रशासकीय भवन निर्माण गर्ने भएको छ। थलीस्थित कान्तिभैरव माध्यामिक विद्यालयको ७ रोपनी जग्गामा कुल ८९ हजार ३०५ वर्गफिटको भवन बन्न लागेको हो। बेसमेन्ट सहित ७ तल्ला हुने सो भवनको भुइँ तल्ला र पहिलो तल्ला व्यवसायिक प्रयोजनको लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ। 

३२वटा साना गाडी र ४५वटा २ पांग्रे सवारी पार्किङ गर्न मिल्ने १६ हजार ६५१ वर्गफिटको बेसमेन्ट हुने उक्त भवनमा भुइँ तल्ला व्यवसायिक प्रयोजन र पहिलो तल्ला बैंकिङ प्रयोजनका लागि प्रयोग गरिने छ। दुवै तल्ला १२ हजार ७९५ वर्गफिटका रहनेछन्। यसैगरी, भवनको दोस्रो, तेस्रो र चौथो तल्ला नगरपालिकाको प्रशासनिक कार्यको लागि प्रयोग गरिने छ। भवनको पाँचौ तल्लामा भने स्टेजसहितको १७०जना अट्ने सभाहल र क्यानटिन रहने छ। 

अपांग मैत्री भवनको हरेक तल्लामा २वटा भर्याङ, २वटा लिफ्ट र आपतकालीन भर्याङ समेत रहने छ। आगलागीको सूचना दिने “स्मोक डिटेक्टर” र अग्नि नियन्त्रण गर्ने सामाग्री पनि भवनमा रहने नगरपालिकाले जनाएको छ। भवनको मोहोडा मल्लकालीन शैलीमा निर्माण हुने छ। 

गोकर्ण फरेस्ट रिसोर्टमा आज एक कार्यक्रम आयोजना गरी नगर प्रमुख कृष्णहरि थापा र जिसस प्रमुख शिवसुन्दर राज वैद्यबीच अनुदानको समझदारी पत्रमा हस्ताक्षर भयो। कुल अनुमानित लागत ५१ करोड ७० लाख ४७ हजार १२० रुपैयाँ भएको भवनको ठेक्का सम्झौता कार्तिक २० गते भएको थियो। कुल अनुमानित लागतको ३१.९६ प्रतिशत कम मूल्य अर्थात् ३५ करोड १७ लाख ९४ हजार ११० रुपैयाँमा खड्का-सगुन-सगरमाथा जे.भी.ले ठेक्का पाएको सो भवनको निर्माण २०८० साल कार्तिक ३० गतेसम्म सम्पन्न भइसक्नु पर्नेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *