बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राष्ट्रको समृद्धि र नागरिक सुखका लागि एकताबद्ध बनौं : प्रधानमन्त्री

कात्तिक ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका छन् ।

नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्ष पूरा गर्न समर्थ हुने बताएका छन् ।

सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नव निर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन् ।

उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिङ्गो राष्ट्रका साझा पुँजीका रूपमा अङ्कित रहेको उल्लेख गरेका छन् ।

‘एकताको यस राष्ट्रिय पुँजीलाई हामीले देश निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौँ’, उनले सन्देशमा भनेका छन्, ‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरूलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौँ ।’

शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणलाई ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाएको दिनलाई प्राचीनकालदेखि नेपाल सम्वतका रूपमा मनाइँदै आइएको छ । नेपाल सम्वतको यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्तका प्रवर्तक शङ्खधर साख्वाःको विशेष स्मरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *