नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँसम्म जरिवान हुने गरी मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ल्याएको छ । भारतीय रुपैयाँ र परिवत्र्य विदेशी मुद्राको खरिद बिक्री कारोबार गर्ने मनिचेञ्जरहरूले राष्ट्र बैंकले तोकेको नियम उल्लघंन गरेमा यसको प्रकृति हेरी उक्त रकमसम्मको जरिवाना गर्ने व्यवस्था गरेको हो ।
नियमावलीमा मनिचेञ्जरको व्यवसायीक प्रमाणपत्र निलम्बन तथा रद्द समेत गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ । राष्ट्र बैंकले आफूले गरेको निर्देशन पालना नगर्ने व्यवसायीलाई नगद धरौटी जफतदेखि अन्य सम्पूर्ण धरौटी समेत जफत गर्न सक्ने छ ।
नियमावलीले मनिचेञ्जर सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई समेत कारवाहीको छुट्टै व्यवस्था गरेको छ । उनीहरूलाई सचेत गराउँदै नियम उल्लघंन गर्ने कर्मचारी तथा पदाधिकारीलाई २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना समेत गर्न सक्ने व्यवस्था विनियमावलीमा गरेको छ ।
भारतीय रुपैयाँमात्र खरिद बिक्री गर्न इजाजतपत्र लिएका मनिचेञ्जरले परिवत्र्य विदेशी मुद्रा खरिदको कारोबार गर्न पाइने छैन । त्यस्तै परिवत्र्य विदेशी मुद्रा कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरले भारतीय रुपैयाँको खरिद बिक्रीको कारोबार गर्न पाउने छैन । राष्ट्र बैंकबाट इजाजतपत्र लिँदा तोकिएको व्यवसाय मात्रै मनिचेञ्जरहरूले गर्न पाउने छन् ।
मनिचेञ्जर कम्पनीहरूले व्यापार गर्ने उद्देश्यले मालसामान खरिद बिक्री गर्न वा राष्ट्र बैंकको स्वीकृतिमा कार्यालय प्रयोजनको लागि बाहेक भवन निर्माण गर्न, अचल सम्पत्ति खरिद गर्न वा अन्य कम्पनीमा लगानी गर्न समेत नपाउने व्यवस्था राष्ट्र बैंकले विनियमावलीमार्फत गरेको छ । साथै मनिचेञ्जरहरूले आफ्ना कर्मचारीलाई वाहेक अन्य कसैलाई पनि कर्जा सापटी दिन भने पाउने छैनन् ।
मनिचेञ्जर कारोबार गर्न इजाजपत्र लिन चाहने व्यवसायीले २० लाख रुपैयाँ पुँजीको व्यवस्था गर्नु पर्नेछ । यो पुँजी भारतीय रुपैयाँ र परिवत्र्य विदेशी मुद्राको कारोबार गर्ने मनिचेञ्जरको लागि हो । विदेशी परिवत्र्य मुद्राको कारोबार गर्न चाहने मनिचेञ्जरले १५ लाख रुपैयाँको चुक्ता पुँजी हुनुपर्नेछ भने भारतीय रुपैयाँमात्रै कारोबार गर्न चाहने मनिचेञ्जरले १० लाख रुपैयाँ पुँजीको व्यवस्था गरेपछि मात्रै राष्ट्र बैंकले तोकेको शर्त पुरा भएमा इजाजपत्र पाउने विनियमावलीमा उल्लेख गरिएको छ ।
मनिचेञ्जर कम्पनीहरूले इजाजतपत्र लिनको लागि राष्ट्र बैंकमा एक लाख रुपैयाँसम्म धरौटी रकम राख्नु पर्नेछ । भारतीय रुपैयाँको मात्र कारोबार गर्न चाहने मनिचेञ्जरले ५० हजार रुपैयाँमात्र धरौटी राखे पुग्नेछ भने परिवत्य विदेशी मुद्राको खरिदका लागि कारेबार लागि ७५ हजार धरौटी स्वरुप राष्ट्र बैंकमा राख्नु पर्नेछ । यदि कुनै मनिचेञ्जर रद्द भएर पुनः फिर्ता माग भएमा राष्ट्र बैंकले प्रकाशित गरेको सूचना वापत रकम कट्टा गरी वाँकी रकम फिर्ता गरिने समेत विनियमावलीमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकबाट मनिचेञ्जरको कारोबार गर्न इजाजतपत्र लिनको लागि एक लाख २५ हजारसम्म शुल्क लाग्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । भारतीय रुपैयाँ खरिद बिक्री गर्नको लागि २५ हजार रुपैयाँ र परिवत्र्य विदेशी मुद्रा खरिद बिक्री गर्नको लागि एक लाख रुपैयाँ राष्ट्र बैंकलाई शुल्क तिर्नुपर्नेछ ।
१८ वर्ष पुरा भएको नेपाली नागरिकले यो व्यवसाय सञ्चालन गर्न सक्नेछ । ऋण लिएर बदमासी नगरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवामा नरहेको, बैंक तथा वित्तीय संस्थाबाट कुनै कारवाहीमा नपरेको योग्यता तोकिएको छ ।
