आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

‘हेलि टूर प्याकेज’ हेलिकप्टर कम्पनीहरूको आकर्षक प्याकेज

कोरोनाभाइरस संक्रमण महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई उकास्न हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले विभिन्न प्याकेज ल्याएका छन् । हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले यो संकटको अवस्थामा आफूहरू व्यवसायिक रुपमा टिक्न ‘हेलि टूर प्याकेज’ शुरु गरेका हुन् । नेपाली ग्राहकलाई समय अनुसार सेवा दिन हेलिकप्टर कम्पनीहरूले आकर्षक प्याकेज ल्याएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव तथा हेलि एभरेष्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगराज शर्मा कँडेलले बताए । 

हाल नेपालमा १० वटा हेलिकप्टर कम्पनीका ३४ वटा हेलिकप्टर छन् ।  सोमध्ये १२ वटा मात्रै उडानमा छन् भने बाँकी २२ वटा हेलिकप्टर काम नपाएर थन्किएको अवस्था छ । ‘कम्पनीहरूले आफूलाई व्यवसायिक रुपमा टिकाउन  अधिकांश कम्पनीले हेलि टूर प्याकेज शुरु गरेका हुन्,’ उनले भने ‘ सर्वसाधारण यात्रुलाई आकर्षित गर्न प्याकेज ल्याएका हौं । कँडेलका अनुसार कर्मचारीलाई तलब खुवाउन पनि समस्या परेकाले सञ्चालन खर्च धान्नकै लागि भए पनि सस्तोमै टूर प्याकेजको सेवा सञ्चालन गर्न कम्पनीहरू बाध्य भएका हुन् ।  

कम्पनीहरूले काठमाडौंबाट गोसाइँकुण्ड, मनकामना, लाङटाङ, क्यान्जिन गुम्बा, हेलम्बु, धुन्चे, सौराहा, लुम्बिनी, चितवन, चुम भ्याली, नगरकोट, चन्द्रागिरी, दक्षिणकालीसहितको गन्तव्यको दुईतर्फी हेलि टूर प्याकेज ल्याएका हुन् । हेलि एभरेष्टले काठमाडौंबाट विभिन्न गन्तव्यको लागि १५ वटा प्याकेज बनाएको महासचिव कँडेलले बताए । 

हेलिकप्टर कम्पनीहरूले १० हजारदेखि तीन लाख २० हजारसम्मका टूर प्याकेज ल्याएका महासचिव कँडेलले बताए । हेलि टूर प्याकेजमा त्रिभुवन विमानस्थनबाट दक्षिणकाली, चन्द्रागिरि र नगरकोट १० हजार रुपैयाँमा नै शयर गर्न सकिन्छ भने लुम्बिनी यात्राको लागि ३ लाख २० हजार खर्च लाग्ने छ । प्याकेजमा चुम भ्यालीको यात्राको लागि २ लाख ५० हजार लाग्ने गरी प्याकेज तयार भएको कँडेलले बताए । 

टुर प्याकेजमा पनि गोसाइँकुण्ड र पाथिभराको लागि धेरैले चासो दिएको उनी बताउँछन् ।  गोसाइँकुण्डको टूरमा एकै परिवारका वा पीसीआर चेक भएर आएको अवस्थामा मिश्रित यात्रुलाई प्रतिव्यक्ति १९ हजार रुपैयाँमै सेवा दिने प्याकेज छ । 
गोसाइँकुण्ड, लाङटाङ, चन्द्रागिरि, नगरकोटसहिको टुरलाई ग्राहकले रुचाउन थालेकोले हेलिकप्टर कम्पनीको भनाइ छ । यस्तो प्याकेजमा कर्पोरेट हाउसमा काम गर्ने कर्मचारी, विश्वविद्यालयका प्राध्यापक तथा आफ्नै आम्दानी भएका युवा वर्गले रुचि देखिएको छ । 

चार वर्षअघि सिम्रिक एअरले टुर प्याकेजको शुरुआत गरेपछि अन्य हेलिकप्टर पनि यसतर्फ आकर्षित हुन थालेका हुन् । सिम्रिकले काठमाडौंबाट पाथीभरा, धरानबाट भेडेटार, पोखराबाट मुक्तिनाथसहितको गन्तव्यको लागि हेलि टूर प्याकेज सञ्चालन गर्दै आएको छ । 

यो वायुसेवा प्रदायक कम्पनीले आफ्ना पाँच वटा हेलिकप्टरमध्ये दुई वटाबाट कोरोनाका बिरामीको उद्धार गर्दै आएको छ भने आकस्मिक उद्धारसहितको प्याकेजका लागि अन्य तीन हेलिकप्टर तयारी अवस्थामा राख्दै आएको छ । 
६ वटा हेलिकप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकप्टरले पनि गएको वर्षदेखि गोसाइँकुण्डको टूर प्याकेज सञ्चालन गरिरहेको छ । दैनिक दुई वटा गोसाइँकुण्ड हेलि टूर गराइरहेको छ

श्री एअरका दुई वटा हेलिकप्टरमध्ये एउटा मात्रै उडानमा छ भने अर्कोलाई प्याकेजमा उडान गर्ने तयारी कम्पनीले गरेको छ ।  उडानमा रहेका हेलिकप्टरमा सीम्रिक एअर र प्रभु हेलिकप्टरको २÷२ वटा अल्टिच्युड, हेलि एभरेष्ट, कैलाश, माउन्टेन, श्रीएअर, एअर डाइनेष्टी, समिट र मनाङ एअरका एक÷एक वटा छन् ।  १० वटा कम्पनीसँग न्यूनतम दुईदेखि ६ वटासम्म हेलिकप्टर छन् । थन्किएर बसेका हेलिकप्टरमा हरेक कम्पनीको १ देखि ३ वटासम्म छन् । सबैभन्दा बढी प्रभुसँग ६ वटा र सीम्रिकसँग पाँच वटा हेलिकप्टर छन् भने बाँकी आठ वटा कम्पनीसँग दुईदेखि चार वटासम्म गरी २३ हेलिकप्टर छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *