कात्तिक ४ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमित नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्नुपर्ने जिम्मेबारीबाट सरकार पन्छिन नमिल्ने पनि बताएका छन् ।
संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा संक्रमित नागरिकलाई आफ्नो उपचार आफै गर्नु भन्ने निर्णय अनुचित भएको उनको भनाई छ । ‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन,’ नेता नेपालले विज्ञप्तीमार्फत भनेका छन् ।
गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशील हुन नसकेको उनले टिप्पणी गरेका छन् । ‘संक्रामक रोग सम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्छ,’ नेता नेपालले भनेका छन् ।
मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेता नेपालको भनाइ छ ।
सरकारको सोही निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेको पूर्व प्रधानमन्त्री नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
